काठमाडौं । अमेरिकामा फेरि एक भारतीय मूलका युवकको ज्यान गएको छ । तेलङ्गानाको महबुबनगर जिल्लाका ३० वर्षीय सफ्टवेयर इन्जिनियर मोहम्मद निजामुद्दिनको अमेरिकामा प्रहरी गोलीकाण्डमा मृत्यु भएको हो ।
परिवारका दाबीअनुसार निजामुद्दिनको कोठामेटसँग सामान्य झगडा भएको थियो । झगडा चाकूसम्म पुग्दा छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका प्रहरीले अनुसन्धान नै नगरी उनीमाथि चार राउन्ड गोली प्रहार गरेको आरोप लगाइएको छ । घटनामा गम्भीर घाइते भएका निजामुद्दिनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सन् २०१६ मा अमेरिका पुगेका थिए
मोहम्मद निजामुद्दिन उच्च शिक्षाका लागि २०१६ मा अमेरिकाको फ्लोरिडा गएका थिए । एमएस पूरा गरेर उनले त्यहाँकै एक कम्पनीमा सफ्टवेयर प्रोफेसनलका रूपमा काम गर्न थालेका थिए । पछि प्रमोशनसहित क्यालिफोर्निया सरेका उनी ३ सेप्टेम्बरमा घटेको उक्त घटनामा मारिएका हुन् ।
परिवारका अनुसार उनीहरूको मृत्युको खबर बिहीबार बिहान साथीमार्फत् आएको थियो । अहिले निजामुद्दिनको पार्थिव शरीर क्यालिफोर्नियाको सान्ता क्लारास्थित अस्पतालमा राखिएको छ ।
परिवारको विदेशमन्त्रीसमक्ष अपील
मृतकका पिता मोहम्मद हसनुद्दिन र आमा–बुबाले भारतका विदेशमन्त्री एस. जयशङ्करसँग भावुक अपील गर्दै छोराको शव महबुबनगर ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । उनीहरूले वाशिङटन र सान फ्रान्सिस्कोस्थित भारतीय दूतावासलाई पनि तत्काल सहयोगको लागि गुहार गरेका छन् । परिवारले “हामीलाई थाहा छैन, किन प्रहरीले गोली हाने ?” भन्दै न्याय मागेका छन् ।
प्रहरीको भनाइ
सान्ता क्लारा प्रहरीले भने ‘आइजनहावर ड्राइभस्थित एक घरमा कोठामेटबीच चाकू प्रयोग गरेर आक्रमण भएको खबरपछि कारबाही गरिएको’ जनाएको छ । प्रहरीले निजामुद्दिनलाई नियन्त्रणमा लिन गोली चलाएको र घाइते अवस्थामा अस्पताल पुर्याए पनि उनलाई बचाउन नसकिएको जनाएको छ । चाकू आक्रमणमा घाइते भएका कोठामेट भने अस्पतालमा उपचाररत छन् ।
हालै अर्का भारतीयको हत्या भएको थियो
यसअघि गत हप्ता मात्रै अमेरिकाको टेक्सासको डलासमा भारतीय मूलका नागरिक चन्द्र मौली ‘बब’ नागमल्लैयाको पत्नी र छोराको सामुहिक उपस्थितिमा हत्या गरिएको थियो ।
अवैध रूपमा अमेरिका प्रवेश गरेका क्युबाली नागरिक योर्डानिस कोबोस–मार्टिनेजले कुल्हाडी प्रयोग गरी उनको घाँटी काटेर हत्या गरेको थियो । वासिङ मेसिनसम्बन्धी सामान्य विवादपछि भएको उक्त घटनामा हत्याराले नागमल्लैयामाथि निरन्तर वार गर्दै अन्ततः उनको टाउको नै काटिदिएको प्रहरीले जनाएको छ ।
लगातार भइरहेका घटनाले अमेरिकामा रहेका भारतीय समुदाय असुरक्षित भएको भन्दै चासो बढेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
