काठमाडौँ । न्युजिल्याण्डमा घटेको एक हृदयविदारक घटनाले सबैलाई स्तब्ध पारेको छ। आफ्नै ६ र ८ वर्षका दुई छोराछोरीलाई विष खुवाएर सूटकेसमा बन्द गरी विदेश भागेकी आमालाई अदालतले दोषी ठहर गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटना सन् २०१८ मा भएको भए पनि यसको खुलासा २०२२ मा मात्र भयो। त्यसबेला एक स्टोरमा राखिएको सूटकेस खोल्दा दुई बच्चाका कङ्काल फेला परेका थिए। अनुसन्धानमा खुलेको तथ्याङ्कअनुसार आमाले छोराछोरीलाई सूटकेसमा बन्द गरेर दक्षिण कोरिया भागेकी थिइन् र त्यहाँ नाम परिवर्तन गरी बस्दै आएकी थिइन्। नोभेम्बर २०२२ मा रहस्य खुल्दा उनलाई कोरियाबाट प्रत्यर्पण गरिएको थियो।
श्रीमान्को मृत्युपछि भयावह कदम
दोषी आमाको परिचय न्युजिल्याण्डकी नागरिक ‘ली’का रूपमा गरिएको छ। उनका श्रीमान्को २०१७ मा निधन भएपछि दुई सन्तानको सम्पूर्ण जिम्मेवारी उनीमाथि आएको थियो। अदालतमा बयान दिने क्रममा लीले आफ्ना छोराछोरीलाई विष खुवाएर सूटकेसमा राखेको स्वीकार गरिन्।
सुनुवाइका क्रममा जज समेत भावुक बनेका थिए। बचाउ पक्षका वकिलले श्रीमान्को मृत्युपछि ली गहिरो मानसिक आघातमा परेको र उनी मानसिक रूपमा अस्वस्थ भएकाले सही–गलत छुट्याउन नसकेको दाबी गरेका थिए। उनका अनुसार लीले छोराछोरीको हत्या गरेपछि आत्महत्या गर्ने योजना पनि बनाएकी थिइन्।
अनलाइन निलामीपछि पोल खुल्यो
लीले आफ्ना सामानहरू एक लकरमा राखेर दक्षिण कोरिया प्रस्थान गरेकी थिइन्। तर, २०२२ मा आर्थिक अभावका कारण उनले लकरको भाडा तिर्न नसकेपछि त्यहाँ रहेका सामग्री अनलाइन निलामीमा विक्री भए। नयाँ खरिदकर्ताले सूटकेस खोलेपछि कङ्काल देखे र तत्काल प्रहरीलाई खबर गरेपछि घटनाको भयानक रहस्य खुलेको हो।
अदालतले लीलाई दोषी ठहर गरिसकेको छ तर सजाय भने अझै तोकिएको छैन। यस मामिलामा आगामी नोभेम्बर २६ मा अन्तिम सुनुवाइ हुने र सजाय सुनाइने बताइएको छ। न्युजिल्याण्डको कानुनअनुसार हत्या गर्ने अपराधीलाई जन्मकैद सजाय हुन सक्छ र न्यूनतम १० वर्ष कैद पूरा नगरी परोलको सुविधा पाइँदैन।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
