logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अमेरिकी हमलापछि दोस्रो दिन: कतारमाथि इरानी मिसाइल वर्षा

अमेरिकी हमलापछि दोस्रो दिन: कतारमाथि इरानी मिसाइल वर्षा


  • आइतबार, फाल्गुन १७ २०८२
  • 832
    SHARES

    एजेन्सी, दोहा ।
    अमेरिकाले ईरानमाथि गरेको सैन्य हमलाको दोस्रो दिन खाडी क्षेत्रमा तनाव झन् चर्किएको छ। ईरानले कतारसहित विभिन्न खाडी मुलुकतर्फ मिसाइल र ड्रोन आक्रमण जारी राखेको जनाएको छ। यसैबीच, कतारले आफ्ना सुरक्षा प्रणालीले इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनका लहरहरू सफलतापूर्वक अवरोध गरेको जानकारी दिएको छ।

    कतारका सशस्त्र बलका अनुसार इरानबाट प्रहार गरिएका क्रमिक मिसाइल लहर र थुप्रै ड्रोनहरू अवरोध गरिएको हो। संयुक्त पत्रकार सम्मेलनमा रक्षा, गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ठूलो संख्यामा मिसाइल र ड्रोन खसालिएको बताएका छन्।

    अधिकारीहरूका अनुसार दुई वटा मिसाइलले Al Udeid Air Base लाई छोएका थिए भने एउटा ड्रोनले प्रारम्भिक चेतावनी रडार प्रणालीलाई लक्षित गरेको थियो। यद्यपि, उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। “सुरक्षा तथा प्रतिरक्षा प्रणाली सामान्य रूपमा सञ्चालनमा छन्,” अधिकारीहरूले बताएका छन्।

    यसैबीच, मिसाइल अवरोध गर्दा खसेको भग्नावशेषका कारण दोहाको औद्योगिक क्षेत्रमा सानो आगलागी भएको थियो। Ministry of Interior ले नागरिक सुरक्षा टोलीले उक्त आगलागी छिट्टै नियन्त्रणमा लिएको र कुनै घाइते नभएको स्पष्ट पारेको छ।

    कतारको परराष्ट्र मन्त्रालयले यस आक्रमणलाई देशको सार्वभौमिकतामाथिको स्पष्ट उल्लंघन भन्दै कडा आपत्ति जनाएको छ। मन्त्रालयले कतारले आवश्यक परेमा जवाफ दिने अधिकार सुरक्षित राखेको उल्लेख गरेको छ। साथै, कतारी भूमिमाथि बारम्बार गरिने आक्रमणले असल छिमेकी सम्बन्धका सिद्धान्तहरू कमजोर बनाउने चेतावनी दिएको छ।

    अधिकारिहरूले सर्वसाधारणलाई सतर्क रहन, आधिकारिक सुरक्षा निर्देशन पालना गर्न तथा प्रमाणित सूचनामात्रै विश्वास गर्न आग्रह गरेका छन्। आक्रमण स्थलका तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा सेयर नगर्न पनि सचेत गराइएको छ, अन्यथा कानुनी कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

    यसैबीच, Qatar Civil Aviation Authority ले सुरक्षा सतर्कताका रूपमा कतारको आकाशमार्ग अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ। परिस्थिती सामान्य भएपछि हवाई सेवा पुनः सञ्चालन गरिने जनाइएको छ।

    खाडी क्षेत्रमा विकसित हुँदै गएको यस तनावपूर्ण अवस्थाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपिएको विश्लेषण गरिएको छ।

    प्रकाशित : आइतबार, १७ फाल्गुन २०८२ , ०८:१३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend