logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पर्वतको आम्बोटमा चन्दा संकलन गरेर विद्यालयसम्मको पदमार्ग निर्माण

पर्वतको आम्बोटमा चन्दा संकलन गरेर विद्यालयसम्मको पदमार्ग निर्माण


  • शनिबार, चैत्र २३ २०८१
  • 923
    SHARES

    – लोकसारथि समाचार, पर्वत

    पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटबासीले चन्दा संकलन गरेर जङ्गलबीचको विद्यालयसम्म पुग्ने पदमार्ग निर्माण गरेका छन्। राजमार्गभन्दा करिब ५०० मिटर माथि रहेको आम्बोट आधारभूत विद्यालयसम्म स-साना बालबालिकालाई पुर्‍याउनका लागि स्वदेश तथा विदेशमा रहेका आम्बोटबासीको सहयोगमा यो कार्य सम्पन्न भएको हो।

    विद्यालयका प्रधानाध्यापक मीना गुरुङका अनुसार, पदमार्ग निर्माणका लागि करिब ११ लाख ४६ हजार रुपैयाँ संकलन भएको हो। प्राप्त रकमबाट फलामे रेलिङसहितको ३०० मिटर सिँढी र ढलान गरिएको पदमार्ग निर्माण गरिएको छ भने बाँकी रकमबाट विद्यालय परिसरमा सानो खेलमैदान तयार पारिएको छ।

    ३१ जना विद्यार्थीका लागि संघर्षपूर्ण पहुँच

    शिशुदेखि कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा हाल ३१ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयसम्म सहज बाटो नहुँदा ढुंगा र गह्रौं चट्टानबीचको अप्ठ्यारो बाटो हुँदै बालबालिकाले आवत–जावत गर्नुपर्दा समस्या झेल्नुपरेको थियो।

    प्रधानाध्यापक गुरुङका अनुसार, विद्यालयको स्थापना वि.सं. २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा गरिएको थियो। पोखरा–बागलुङ सडक खुल्नासाथ दुर्लुङ, बाजुङ, निम्ने, कथुरे, ह्यार्दी, भुम, ओखलढुङ्गालगायत गाउँबाट अम्बोटतर्फ बसाइँसराइ गर्नेहरूले चन्दा उठाएर विद्यालय स्थापना गरेका थिए।

    बिजुली र पानी अझै टाढाको सपना

    स्थानीय तारे सामुदायिक वनको जग्गामा रहेको विद्यालयमा अहिले पनि खानेपानी र विद्युत् जडानको अभाव छ। विद्युत् तथा पानीको मिटरबक्स जडान गर्ने प्रक्रियामा समस्या आइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरले जानकारी दिइन्।

    विद्यालयमा दुई स्थायी तथा दुई निजी शिक्षक कार्यरत छन्। अध्यक्ष र चारै महिला शिक्षकसहित महिलाको नेतृत्वमा सञ्चालन भइरहेको विद्यालयले मन्टेश्वरी तहका लागि थप एक जना शिक्षकको माग गरेको छ।

    प्रकाशित : शनिबार, २३ चैत्र २०८१ , ०३:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend