लोकसारथि संवाददाता, काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले साउन १५ भित्र विधेयक संसद्मा पठाउने लक्ष्यसहित छलफललाई तीव्रता दिएको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, जेष्ठ ३१ गते शनिबार समिति बैठक बस्ने तयारी गरिएको छ।
सभापति थापाले हिमालप्रेससँग कुरा गर्दै भने, “निजी विद्यालय र प्रारम्भिक बाल विकास (ईसीडी) सम्बन्धी सरकारको स्पष्ट धारणा आउनुपर्छ भनेर आग्रह गरेका छौं। ३१ गते समिति बैठक बस्छ।” उनका अनुसार पाँचदेखि सात वटा बैठकमार्फत विधेयकका विषय टुंगो लगाउनुपर्ने अवस्था छ, जसका लागि निरन्तर बैठक आवश्यक रहेको पनि उनले बताए। “दुई घण्टा बैठक गरेर काम सकिँदैन, समयमै विधेयक टुंग्याउन अब तीव्र छलफल हुनुपर्छ,” थापाको भनाइ छ।
यसअघि नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक असार १५ भित्रै प्रतिनिधिसभामा पुर्याउनुपर्नेछ। तर, तयारी सुस्त देखिएको भन्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “१७ वैशाखको सहमतिअनुसार विधेयक संसद्मा नपुगे आन्दोलन सुरु हुन्छ।” उनका अनुसार यदि सरकारले सहमति पालना गरेन भने कडा र व्यापक आन्दोलन सुरु हुनेछ।
गत चैत २० गतेदेखि २९ दिनसम्म काठमाडौंमा आन्दोलन गरेका शिक्षकहरूले १७ वैशाखमा सरकारले विधेयक असार १५ मा संसद्मा लैजाने सहमति भएपछि आन्दोलन स्थगित गरेका थिए। तर, त्यस सहमति कार्यान्वयनको अवस्था अन्योल देखिएको भन्दै शिक्षकहरू पुनः सडकमा आउने चेतावनी दिइरहेका छन्।
यस ऐनमार्फत शिक्षा क्षेत्रको संरचना, निजी विद्यालयको व्यवस्थापन, शिक्षकको सेवा सुरक्षण, प्रारम्भिक बाल विकासको अधिकार लगायतका विषय समेटिने अपेक्षा गरिएको छ। तर, समयमै विधेयक अघि नबढे शिक्षा क्षेत्रमा संघर्ष र अन्योल थपिने संकेत देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
