logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अब फिलिंग्स होइन, नयाँ दाँत उमेरिन्छ! किंग्स कलेज लन्डनका वैज्ञानिकहरूको ठूलो उपलब्धि

अब फिलिंग्स होइन, नयाँ दाँत उमेरिन्छ! किंग्स कलेज लन्डनका वैज्ञानिकहरूको ठूलो उपलब्धि


  • बुधबार, बैशाख ३ २०८२
  • 1.3K
    SHARES


    – लोकसारथी स्वास्थ्य डेस्क, वैशाख ३

    मानिसको दाँत बिग्रिएपछि हालसम्मको प्रमुख उपचार हो – फिलिंग्स वा इम्प्लान्ट। तर अब यो प्रविधिको युगमा दाँत मर्मतको प्राकृतिक र स्थायी विकल्प देखा पर्न थालेको छ। बेलायतको प्रतिष्ठित किंग्स कलेज लन्डनका वैज्ञानिकहरूले प्रयोगशालामा मानिसका आफ्नै कोषबाट दाँत उम्राउने प्रविधिमा सफलता हात पारेका छन्।

    शार्क र हात्ती जस्तै मानिसमा पनि फेरि दाँत?

    शार्क र हात्ती जस्ता जनावरहरूमा जीवनभर नयाँ दाँत उम्रिने गर्छ। तर मानिसमा एक पटक स्थायी दाँत उम्रिएपछि फेरि उम्रिदैन। वैज्ञानिकहरूले अहिले विकास गरिरहेको प्रविधिले मानिसमा पनि स्वाभाविक रूपमा नयाँ दाँत उम्रिने सम्भावना देखिएको छ।

    फिलिंग्सको साटो प्राकृतिक समाधान

    किंग्स कलेज लन्डनको डेन्टिस्ट्री, ओरल एन्ड क्रानियोफेसियल साइन्सेस संकायका वैज्ञानिक डा. शुचेन झाङका अनुसार, “फिलिंग्स दीर्घकालीन समाधान होइनन्। तिनले दाँत कमजोर बनाउँछन्, संवेदनशीलता बढाउँछन् र पुनः किरा लाग्ने सम्भावना रहन्छ। इम्प्लान्ट पनि शल्यक्रियात्मक र खर्चिलो हुन्छ। तर प्रयोगशालामा उमारिएका दाँत भने शरीरसँग मेल खाने, स्वाभाविक र टिकाउ हुन्छन्।”

    ‘कोष संवाद प्रविधि’द्वारा बन्यो सम्भव

    किंग्स कलेज र इम्पेरियल कलेज लन्डनको सहकार्यमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले यस्तो जैविक पदार्थ (बायो-म्याट्रिक्स) विकास गरेका छन्, जसले कोषहरूबीच संवाद गराउन सहयोग गर्छ। यसले शरीरको स्वाभाविक प्रणालीअनुसार दाँत निर्माणको प्रक्रिया सुरु गराउँछ।

    डा. झाङ भन्छन्, “हामीले बनाएको म्याट्रिक्सले शरीरभित्रको कोषीय वातावरणजस्तै अवस्था सिर्जना गर्छ, जसले गर्दा दाँतको कोषले विकास सुरु गर्छन्। यो एक किसिमको पुनर्जीवनीय चिकित्सा हो।”

    दाँत उम्राउने दुई सम्भावित विधि

    वैज्ञानिकहरूको अनुसार, प्रयोगशालामा विकास भएको प्रविधिलाई प्रयोगमा ल्याउने दुई सम्भावना छन्:

    1. मिसिङ दाँतको ठाउँमा युवा दाँतको कोष ट्रान्सप्लान्ट गरेर त्यहीँ उमार्ने

    2. प्रयोगशालामै दाँत बनाइसकेर त्यसलाई दाँत नभएको ठाउँमा प्रत्यारोपण गर्ने

    दुबै विधिको लागि प्रारम्भिक अवस्था प्रयोगशालामै तयार गरिनुपर्नेछ।

    पुनर्जीवनीय चिकित्सा: चिकित्सा विज्ञानको भविष्य

    यो अनुसन्धानलाई पुनर्जीवनीय चिकित्सा (Regenerative Medicine) को क्षेत्रमा एक क्रान्तिकारी उपलब्धि मानिएको छ। अब दाँत मात्र होइन, भविष्यमा हड्डी, अंग, ऊतक आदि शरीरका आफ्नै कोषबाट निर्माण गर्न सकिने सम्भावना बलियो हुँदै गएको छ।

    वैज्ञानिकहरूको आशा: उपचारमा क्रान्ति ल्याउने प्रविधि

    अध्ययनकी सह-लेखिका डा. एना एन्जेलोभा भोलपोनी भन्छिन्, “हामीले विकास गरेको यो प्रविधिले दन्त उपचारको क्षेत्रमा परिवर्तन ल्याउने सम्भावना राख्छ। यसले दीर्घकालीन, प्राकृतिक र प्रभावकारी उपचार दिन सक्छ। अनुसन्धानलाई अझ अगाडि बढाउने हाम्रो लक्ष्य हो।”

    अबको दन्त उपचार केवल पर्खनुपर्ने विषय हो। यदि सबथोक योजना अनुसार अघि बढ्यो भने, केही वर्षभित्र हामी आफैंले पुनः दाँत उमार्न सक्नेछौं – त्यो पनि प्राकृतिक रूपमा, बिना फिलिंग्स, बिना इम्प्लान्ट।

    स्रोत: किंग्स कलेज लन्डन, इम्पेरियल कलेज लन्डन

    प्रकाशित : बुधबार, ३ बैशाख २०८२ , ०१:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend