logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प, बङ्गलाचुलीका बिरामी सास्तीमा

एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प, बङ्गलाचुलीका बिरामी सास्तीमा


  • सोमबार, बैशाख ८ २०८२
  • 871
    SHARES

    लोकसारथि संवाददाता
    दाङको बङ्गलाचुली गाउँपालिकामा एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प हुँदा बिरामीहरू गम्भीर समस्यामा परेका छन्। दुर्घटनामा परेर बिग्रिएको एम्बुलेन्स मर्मत नगरिँदा स्थानीयहरू निजी सवारी साधन प्रयोग गर्न बाध्य भएका छन्, जसका कारण महँगो भाडा तिर्नुपर्ने र यात्रा पनि जोखिमपूर्ण बन्न पुगेको छ।

    गाउँपालिकाले सुत्केरी, जटिल बिरामी तथा आकस्मिक अवस्थाका लागि सञ्चालन गरेको रा १ झ १३२ नम्बरको एम्बुलेन्स एक वर्षअघि दुर्घटनामा परेको थियो। त्यसयता मर्मतको नाममा गाडी राखिए पनि सेवा सञ्चालनमा ल्याइएको छैन।

    भौगोलिक रूपमा विकट बङ्गलाचुलीमा स्वास्थ्य संस्थासम्म पुग्न सजिलो छैन। त्यसमाथि पनि एम्बुलेन्स सेवा नहुँदा ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरू थप मारमा परेका छन्। स्थानीय सुशील परियारका अनुसार, बिरामीलाई उपचारका लागि घोराहीसम्म लैजान परेमा अटो रिक्सा रिजर्भ गरेर हजारौँ रुपैयाँ खर्च गर्नु परिरहेको छ।

    वैशाख ७ गते “स्वास्थ्य हाम्रो अधिकार, एम्बुलेन्स खोइ सरकार?” भन्ने नारासहित स्थानीय युवाहरूले गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका थिए। उनीहरूले सेवा तत्काल सञ्चालन नगरे आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

    स्थानीयले एम्बुलेन्स नहुँदा सिमेन्ट कारखानाबाट गुड्ने टिप्परले सडक बर्बाद पारेर जीर्ण बनाइदिएको भन्दै सवारीका कारण झनै खतरा बढेको गुनासो गरेका छन्। गाउँपालिकाका अध्यक्ष तुलसिराम पुनले एम्बुलेन्स मर्मत गर्न लाखौँ खर्च लाग्ने र नयाँ किन्ने प्रक्रिया गाउँसभा मार्फत अघि बढाउनुपर्ने भएकाले ढिलाइ भएको स्पष्टिकरण दिएका छन्।

    नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ। तर, स्थानीय सरकार गठन भएको १० वर्ष पुग्न लाग्दासम्म पनि बङ्गलाचुली गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा प्राथमिकता नदिएको स्थानीयवासीको आरोप छ।

    स्थानीयले अब ढिलाइ नगरी तत्काल एम्बुलेन्स सेवा सञ्चालन गर्न गाउँपालिकासँग जोडदार माग गरेका छन्।

    प्रकाशित : सोमबार, ८ बैशाख २०८२ , ०५:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend