– लोकसारथि संवाददाता, काठमाडौं ।
ब्रेन ट्युमर दिवसको अवसरमा राजधानीको वीर अस्पतालमा स्थापित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले विशेष पहलका साथ जुन महिनाभर ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया गर्ने घोषणा गरेको छ।
केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाका अनुसार, बिरामीलाई लामो समयसम्म प्रतीक्षामा नराखी ४८ घन्टाभित्रै शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ। हालसम्म ब्रेन ट्युमरको शल्यक्रियाका लागि दुई सातासम्म कुर्नुपर्ने बाध्यता रहँदै आएको थियो।
वार्षिक २६०० जति नयाँ बिरामी
नेपालमा प्रत्येक वर्ष करिब २,५०० देखि २,६०० जना नयाँ ब्रेन ट्युमरका बिरामी देखिने अनुमान केन्द्रले सार्वजनिक गरेको छ। हालसम्म देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट १,७३९ जना बिरामीको तथ्यांक संकलन गरिएको छ।
नेपालको २.२ करोड जनसंख्याको अनुपातमा हेर्दा ब्रेन ट्युमरको आवधिकता ११.४ देखि ११.८ प्रति १ लाख जनसंख्या रहेको देखिएको छ।
सबैभन्दा धेरै ट्युमर ४०–५० वर्ष उमेर समूहमा देखिएको छ भने औसत उमेर ४६.३२ वर्ष रहेको छ।
केन्द्रको प्रभातफेरी र मन्त्रीको आश्वासन
ब्रेन ट्युमर दिवसको अवसरमा केन्द्रले प्रभातफेरी कार्यक्रमसमेत सम्पन्न गरेको छ। त्यसपछि आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको पनि उपस्थिति रहेको थियो।
मन्त्री पौडेलले वीर अस्पतालको ब्रेन ट्युमर केन्द्रलाई देशकै उत्कृष्ट विशेषज्ञ केन्द्रको रूपमा विकास गर्न निर्देशन दिएका छन्। उनले भने, “ब्रेन ट्युमर भए पनि डराउनुपर्ने अवस्था छैन, सरकारी अस्पतालमा नै गुणस्तरीय उपचार सम्भव छ।”
जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग
डा. झाका अनुसार हाल अस्पतालमा रहेका जनशक्ति तथा स्रोतसाधनको अधिकतम प्रयोग गरी नियमितभन्दा बढी संख्यामा अपरेशन गरिनेछ। उनले भने, “यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। बिरामीलाई सहज र सुलभ उपचार दिन हामी प्रतिबद्ध छौं।”
वीर अस्पतालको यो पहल नेपालमा सरकारी अस्पतालमार्फत उच्चस्तरीय निःशुल्क सेवा प्रदान गर्ने उदाहरणीय कार्यको रूपमा देखिएको छ। ब्रेन ट्युमरका बिरामी तथा उनीहरूका परिवारका लागि यो समाचार आशाका किरणसरह सावित हुन सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
