लोकसारथि संवाददाता, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा संघीय अस्पतालहरूमा २ हजार १ सय २ जनशक्ति थप्ने प्रक्रिया अघि बढाइएको छ। संघीय अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढिरहेको अवस्थामा लामो समयदेखि रोकिएको स्वास्थ्य जनशक्ति अभाव समाधान गर्न मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा यो कदम चालेका हुन्।
मन्त्री पौडेलले प्रशासन सहसचिव ऋषि आचार्यको संयोजकत्वमा गठन गरेको आन्तरिक कार्यदलले तयार पारेको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण प्रतिवेदन अनुसार विभिन्न संघीय अस्पतालहरूमा विशेषगरी प्राविधिक जनशक्ति थप गरिनेछ।
यो संगठन संरचना पाँच वर्षसम्म हरेक वर्ष थप गर्न मिल्ने गरी बनाइएको हो। यसअन्तर्गत देशकै सबैभन्दा ठूलो वीर अस्पतालमा मात्र ७७७ जनशक्ति थपिनेछ। त्यसैगरी वीर अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा ९० जनशक्ति, कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७, कोशी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८, र भेरी अस्पतालमा १७९ जनशक्ति थप हुने प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, गजेन्द्रनारायण सिंह स्मृति अस्पताल, राजविराजमा १४४, चितवनको भरतपुर अस्पतालमा ४६५, डडेलधुरा अस्पतालमा ५२, र औषधि व्यवस्था विभाग तथा प्रयोगशालाहरूमा ४० जनशक्ति थप्ने गरी संगठन संरचना तयार गरिएको छ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा चाप अत्यधिक भए पनि जनशक्ति समयमै थप नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको जनाउँदै यो प्रतिवेदनले त्यो समस्या केही हदसम्म समाधान गर्ने आशा व्यक्त गरे।
उनले भने, ‘सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु। सम्बद्ध मन्त्रालयहरूसँग समन्वय गरेर यसको कार्यान्वयनमा लागिनेछ।’
मन्त्री पौडेलका अनुसार यो कार्य एकपटकको मात्र नभई हरेक वर्ष निरन्तर रूपमा सर्वेक्षण गरेर दूरगामी रूपमा जनशक्ति अभाव समाधान गर्ने लक्ष्य रहेको छ।
यो पहलले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको दरबन्दीलाई स्थायीत्व प्रदान गर्नसमेत टेवा पुर्याउने विश्वास गरिएको छ। सन् २०६६ यता यस्तो विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण नभएको पृष्ठभूमिमा तयार भएको यो प्रतिवेदन कार्यान्वयनमा आएमा रिक्त दरबन्दी पूर्ति, सेवा गुणस्तर सुधार तथा नयाँ रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।