लोकसारथि संवाददाता, काठमाडौं ।
मनसुनको सुरुआतसँगै देशभर डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको पुष्टि भएको छ। जनवरी १ देखि जुन ८ सम्मकै तथ्याङ्क अनुसार १,२५५ जनामा संक्रमण देखिएको छ भने ७२ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले जनाएको छ।
सबैभन्दा बढी संक्रमित काठमाडौँमा
ईडीसीडीको तथ्याङ्क अनुसार, हालसम्म काठमाडौँमा सबैभन्दा बढी १३२ जना संक्रमित भेटिएका छन्। अन्य जिल्लाहरूमा पनि उल्लेखनीय संख्यामा संक्रमित देखिएका छन्:
-
कास्की – ९० जना
-
सुनसरी – ८७ जना
-
चितवन – ६१ जना
-
पाल्पा – ५१ जना
-
रुपन्देही – ४७ जना
-
कञ्चनपुर – ३७ जना
-
दाङ – ३२ जना
-
भक्तपुर – ३० जना
“नियन्त्रण सम्भव छ, सबैको समन्वय आवश्यक” – डा. गोकर्ण दाहाल
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई पूर्णरूपमा शून्यमा ल्याउने अवस्था त नहुने भए पनि नियन्त्रण भने सम्भव रहेको बताउनुभयो। उहाँले भने,
“डेङ्गीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। तर, त्यसका लागि सामाजिक जागरूकता, सरकारी र गैरसरकारी क्षेत्रको सहकार्य अनिवार्य छ।”
डा. दाहालले यस वर्ष मनसुन छिटो सुरु भएको र मौसमविद्ले बढी वर्षाको सम्भावना औंल्याएको कारण पानी थुप्रिने र लामखुट्टे बढ्ने जोखिम उच्च रहेको पनि जानकारी दिनुभयो।
भेक्टर अध्ययन सीमित, सावधानी अनिवार्य
हाल भेक्टर (लामखुट्टे)को विस्तृत तथ्याङ्क अभाव भएको भन्दै डा. दाहालले सावधानी नै उत्तम उपाय भएको बताउनुभयो।
“मनसुन अगाडि नै सुरु भइसकेको छ, अब पानी थुप्रिने, सञ्चित हुने, र लामखुट्टे बढ्ने सम्भावना रहन्छ”, उहाँले स्पष्ट पार्नुभयो।
कसरी बच्ने ? – विज्ञहरूको सुझाव
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसबाट बच्न निम्न सावधानी आवश्यक मानिएको छ:
-
शरीर पूरै ढाक्ने लुगा लगाउने
-
घर वरपरको खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने
-
खाली भाँडाकुँडा उल्ट्याएर राख्ने, ट्याङ्की सफा राख्ने
-
झुलको प्रयोग गर्ने
-
पानीका ड्रम, गाग्री, बाल्टिन आदि राम्रोसँग छोप्ने
-
फालिएका प्लास्टिकका बोतल, सिसी, टीका बट्टा, टायर आदि हटाउने
-
खानेपानी वा ढल चुहावट भए तत्काल मर्मत गर्ने
तीनै तहको सक्रियता अनिवार्य
डा. दाहालका अनुसार स्थानीय, प्रादेशिक र संघीय सरकार सबैले मिलेर आवश्यक कार्यक्रम सञ्चालन गरे डेङ्गी नियन्त्रण र मृत्युदर घटाउने कार्यमा सकारात्मक प्रभाव पर्न सक्छ।
वर्षा र मनसुनको मौसमसँगै बढ्दो डेङ्गी जोखिमलाई ध्यानमा राख्दै सावधानी र सामूहिक प्रयास नै यस रोगको प्रभाव कम गर्ने प्रमुख उपाय हो। जनचेतना र व्यवहारमा सुधारसहितको जागरूकता अभियान अब अनिवार्य बनिसकेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
