– लोकसारथि संवाददाता, काठमाडौं ।
रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठ आज (सोमबार) बिहानदेखि सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनुभन्दा केही घण्टा अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमा एक भावुक र विस्तृत स्टाटस लेख्दै आफूले भोगेको पीडा र अन्यायबारे सार्वजनिक गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहका अनुसार डा. श्रेष्ठको खोजी कार्य भइरहेको छ। सिंहका अनुसार डा. श्रेष्ठको फेसबुक स्टाटस देखेपछि काठमाडौं प्रहरीलाई समेत जानकारी गराइएको छ।
डा. श्रेष्ठ गत शुक्रबार रामेछाप अस्पतालबाट बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य मन्त्रालय, हेटौंडा सरुवा भएका थिए। उनले आफ्नो सरुवा आर्थिक चलखेलका कारण भएको आरोप फेसबुकमार्फत लगाएका छन्। श्रेष्ठको घर काठमाडौं चाबहिलस्थित गोपीकृष्णमा रहेको जनाइएको छ भने उनको परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ।
फेसबुक स्टाटसमा के छ?
डा. श्रेष्ठले लेखेको लामो स्टाटसमा उनले आफ्नो संघर्षको यात्रा, अस्पताल व्यवस्थापनमा देखिएको भ्रष्टाचार, केही नेताहरू र कर्मचारीहरूको मिलेमतोमा आफूलाई मानसिक रूपमा पीडित बनाइएको उल्लेख गरेका छन्।
उनले रामेछाप–०८ का केदार कार्कीमाथि गम्भीर आरोप लगाउँदै आफूलाई झूटो आरोपमा फसाएर, धम्की दिँदै, अस्पताल व्यवस्थापनमा हस्तक्षेप गरेर सरुवा गराएको दाबी गरेका छन्।
स्टाटसमा उनले लेखेका छन्, “अब भोलीको दिनमा कार्यवाहीमा परेका केही करार कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरू अस्पतालको हाकिमलाई पनि यस्तै अन्याय हुने हो?”
श्रेष्ठले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका केही अधिकारी, डा. नरेन्द्र झा र डा. रेवती थापामाथि पनि आर्थिक चलखेलको आरोप लगाएका छन्।
आत्मग्लानि र पारिवारिक क्षमायाचनासहितको बिदाइ
डा. श्रेष्ठले अन्त्यतिर आफ्नी आमा, श्रीमती भावना, र दुई वर्षे छोरीसँग क्षमायाचना गर्दै भावुक विदाइ शब्दहरू लेखेका छन्। “हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड्ने मान्छे आज आएर गलिसकेको छु,” भनेर उनले लेखेका छन्।
उनले आफ्ना सहकर्मीहरू, अस्पतालका कर्मचारी, र आफूलाई साथ दिने केही व्यक्तिहरूप्रति आभार प्रकट गर्दै देशमै केही गर्ने सपना बोकेको मान्छे भएर पनि अन्ततः मानसिक रूपमा थिचिएको महसुस गरेका छन्।
प्रहरीको खोजी जारी, मानसिक स्वास्थ्यप्रति गम्भीर चिन्ता
डा. श्रेष्ठ सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा उनीप्रति चिन्ता व्यक्त भइरहेका छन्। मानसिक तनावको संकेत गर्ने स्टाटसपछि उनका शुभेच्छुकहरू र चिकित्सक समुदायले उनको सुरक्षाका लागि चाँडो कदम चाल्न माग गरेका छन्।
प्रहरीका अनुसार अहिले काठमाडौंस्थित उनका सम्भावित ठेगानाहरूमा खोजी भइरहेको छ।
लोकसारथि डा. श्रेष्ठको शीघ्र सुरक्षा र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायलाई यस विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
