logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशतभन्दा बढी चिकित्सक अनुत्तीर्ण

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशतभन्दा बढी चिकित्सक अनुत्तीर्ण


  • बुधबार, माघ १४ २०८२
  • 741
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा ठूलो संख्यामा चिकित्सक अनुत्तीर्ण भएका छन् । एमबीबीएस र बीडीएस तर्फको ७४औँ लाइसेन्स परीक्षामा सहभागीमध्ये करिब ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।

    काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार उक्त परीक्षामा जम्मा ३९.४५ प्रतिशत मात्र चिकित्सक उत्तीर्ण भएका छन् ।

    ९४३ परीक्षार्थीमध्ये ३७२ मात्रै पास

    पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर प्रणालीमार्फत मंगलबार र बुधबार परीक्षा सञ्चालन गरिएको थियो । लाइसेन्स परीक्षाका लागि ९६७ जनाले फारम भरेका थिए । तर, तीमध्ये २४ जना अनुपस्थित रहेपछि ९४३ जना मात्र परीक्षामा सहभागी भएका थिए ।

    परीक्षामा सहभागीमध्ये ३७२ जना मात्र उत्तीर्ण भएका छन् ।

    एमबीबीएसतर्फ ३८.७ प्रतिशत मात्रै सफल

    काउन्सिलका अनुसार एमबीबीएस (मेडिकल) तर्फ ७९३ जनाले फारम भरेका थिए । तीमध्ये ७७५ जना परीक्षामा सहभागी भए । सहभागीमध्ये ३०० जना मात्र (३८.७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

    बीडीएसतर्फ ४२.८५ प्रतिशत पास

    यस्तै, बीडीएस (डेन्टल) तर्फ १७४ जनाले फारम भरेका थिए । परीक्षाको समयमा १६८ जना सहभागी भएका थिए । तीमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्र उत्तीर्ण भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

    शैक्षिक गुणस्तरमाथि प्रश्न

    लाइसेन्स परीक्षाको यस्तो कमजोर नतिजाले नेपालमा चिकित्साशास्त्र अध्यापन गराउने विश्वविद्यालय तथा मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।

    तर, काउन्सिलका रजिष्ट्रार डा. देवले भने यसपटक अनुत्तीर्ण हुनेमध्ये ठूलो संख्या अघिल्ला परीक्षामै पटक–पटक फेल भएकाहरू रहेको दाबी गरेका छन् । उनका अनुसार नयाँ स्नातकभन्दा पनि पुनः परीक्षा दिने परीक्षार्थीको संख्या बढी भएकाले समग्र नतिजा प्रभावित भएको हो ।

    स्वास्थ्य सेवामा असरको चिन्ता

    स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार लाइसेन्स परीक्षामा ठूलो संख्यामा चिकित्सक अनुत्तीर्ण हुनु स्वास्थ्य सेवा प्रणाली, मेडिकल शिक्षा र नियमन तीनै पक्षका लागि चिन्ताजनक विषय हो । दक्ष, सक्षम र सुरक्षित चिकित्सक उत्पादनका लागि पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , ०५:२८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend