लोकसारथि संवाददाता, बुटवल ।
बुटवलमा परस्त्रीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय ढंगले मृत्यु भएको छ। बुटवल मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार दिउँसो घटेको यस घटनाले स्थानीय क्षेत्र नै स्तब्ध बनेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको होटलमै अचानक मृत्यु भएको हो। “घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,” डीएसपी रानाले बताए। उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ र रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ।
विवाहित महिलासँग होटल प्रवेश
प्रहरीका अनुसार क्षेत्री शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीया विवाहित महिला सँग सो होटलमा पुगेका थिए। ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। उनीहरू सँगै दुई बच्चासहित होटल पुगेका थिए।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार, होटलको फरक तलामा एक–एक कोठा बुक गरे पनि उनीहरूले एकै कोठामा बसेर खाजा र मदिरा सेवन गरेका थिए। केही बेरपछि क्षेत्री अचानक बेहोस भएपछि ती महिलाले होटल सञ्चालक शेरबहादुर रेस्मी मगरलाई खबर गरेकी थिइन्।
अस्पताल पुर्याएपछि मृत घोषणा
होटल सञ्चालकले तत्काल एम्बुलेन्सको व्यवस्था गरी क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई पहुँचेदेखिनै मृत घोषित गरेको प्रहरीले जनाएको छ।
मासु र मदिरा सेवनपछि घटना
प्राथमिक अनुसन्धानका अनुसार, उनीहरूले माथिल्लो तलाको कोठामा मासु र मदिरा सेवन गरेको र त्यसपछि तल्लो तलाको कोठामा बस्न गएको खुलेको छ।
महिला नियन्त्रणमा
घटनापछि प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। प्रहरीले होटल सञ्चालक, कर्मचारी र घटनास्थलमा भेटिएका प्रमाणहरू पनि संकलन गरेको बताएको छ।
प्रहरीले प्रारम्भिक रूपमा असामान्य स्वास्थ्य समस्या, मदिरा सेवन वा अन्य कारण पनि हुन सक्ने सम्भावना रहेको जनाएको छ। यद्यपि, घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र प्रष्ट हुने बताइएको छ।