logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रूर व्यवहार गर्ने बाबु पक्राउ

बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रूर व्यवहार गर्ने बाबु पक्राउ


  • शनिबार, जेष्ठ २३ २०८३
  • 416
    SHARES

    विराटनगर । बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि लामो समयदेखि क्रूर तथा अमानवीय व्यवहार गर्दै आएका आरोपमा बाबुविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको छ।

    इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा इलाका प्रहरी कार्यालय रानीमा उजुरी दर्ता भएसँगै विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामलाई २०८३ जेठ २१ गते अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    पक्राउपछि पीडित बालकको उद्धार गरी उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ।

    पीडित बालक जन्मजात बहुअपाङ्गता भएका छन्। उनी आँखा नदेख्ने, कान नसुन्ने तथा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। शारीरिक रूपमा असक्त र अबोध बालकमाथि उनका बाबु दिनेश रामले पटक–पटक कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको आरोप छ।

    बालककी हजुरआमा देवी रामका अनुसार बालककी आमाले अर्को विवाह गरी अलग बस्दै आएकी छन् भने बाबु लागुपदार्थको कुलतमा फसेका कारण नातिलाई दैनिकजसो कुटपिट गर्ने गरेका थिए।

    स्थानीयका अनुसार दिनेश रामले लागुपदार्थ सेवन गरी घर फर्किएपछि छोरामाथि हिंसात्मक व्यवहार गर्ने, कुटपिट गर्ने तथा शरीरका विभिन्न भागमा दाँतले टोक्ने जस्ता क्रूर कार्य गर्दै आएका थिए।

    घटनाबारे सूचना प्राप्त भएपछि इन्सेकले अनुसन्धान गरी २०८३ जेठ २२ गते आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको हो। इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलका अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीसँगको संयुक्त पहलमा कानुनी प्रक्रिया अघि बढाइएको हो।

    अपाङ्ग महासंघका प्रदेश व्यवस्थापक सरोज नेपालीले आरोपितले बालकलाई निर्घात कुटपिट गर्नुका साथै छाती लगायत शरीरका विभिन्न भागमा दाँतले टोकेर गम्भीर घाइते बनाएको जानकारी दिए।

    कोशी अस्पतालका चिकित्सकहरूका अनुसार बालकको आकस्मिक कक्षमा प्राथमिक उपचार गरिएको छ। हाल उनलाई थप स्याहार तथा पोषण व्यवस्थापनका लागि अस्पतालकै न्यूट्रिसन (पोषण) विभागमा भर्ना गरिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालअधिकारकर्मीहरूले अपाङ्गता भएका बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्न राज्य तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

    प्रकाशित : शनिबार, २३ जेष्ठ २०८३ , ०४:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend