बुटवल । ललितपुरस्थित एक स्पा सेन्टरमा १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरूसँग अनैतिक कार्य गराएको आरोपमा प्रहरीले स्पा सञ्चालिकालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, जावलाखेलका अनुसार गोरखा जिल्ला शिरानचोक गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपास्थित अरुण थापा चोकमा सञ्चालन रहेको शुकल्प स्पा एण्ड थेरापी की सञ्चालिका ३३ वर्षीया सुमन थापा मगर (सुमन कुमाल) लाई २०८३ जेठ २४ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार स्पा सेन्टरमा स्टाफका रूपमा कार्यरत १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकहरूसँग अनैतिक कार्य गराइएको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको थियो। उजुरीका आधारमा प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै स्पा सेन्टरबाटै आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर, जावलाखेलका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार घटनाबारे थप प्रमाण सङ्कलन तथा अनुसन्धान कार्य जारी रहेको छ।
उक्त घटनासँग सम्बन्धित बालिकाको स्वास्थ्य परीक्षण २०८३ जेठ २४ गते पाटन अस्पतालमा गरिएको पाटन अस्पतालका निर्देशक प्राध्यापक डा. रवि शाक्यले जानकारी दिएका छन्।
प्रहरीले आरोपित सुमन कुमालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको छ। ललितपुर जिल्ला अदालतबाट २०८३ जेठ २५ गते पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाले बालबालिकाको सुरक्षा, श्रम शोषण तथा मानव बेचबिखनका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्धानलाई थप विस्तार गरिएको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
