logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

धनुषामा आमाद्वारा छोराछोरीलाई विष खुवाउँदा तीनको मृत्यु, गर्भबाट जीवितै शिशुको उद्धार

धनुषामा आमाद्वारा छोराछोरीलाई विष खुवाउँदा तीनको मृत्यु, गर्भबाट जीवितै शिशुको उद्धार


  • मंगलबार, बैशाख ९ २०८२
  • 1.1K
    SHARES

    – लोकसारथि संवाददाता ।

    धनुषाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा एक हृदयविदारक घटना भएको छ। घरायसी विवादका कारण आमाले आफ्ना तीन छोराछोरीलाई विष खुवाउँदा तीनै बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन्।

    ३० वर्षीया बविता साहले सोमबार साँझ आफ्ना ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहलाई विष खुवाएर आफूले पनि आत्महत्या प्रयासस्वरूप विष सेवन गरेकी हुन्। घटनापछि गम्भीर अवस्थामा रहेकी बवितालाई स्थानीयले तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए।

    इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवका अनुसार तीनै जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको हो। बविताको अवस्था गम्भीर रहेकाले अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

    अझ दर्दनाक कुरा त के भने, बविता साह ९ महिनाको गर्भवती थिइन्। विष सेवनपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया (अप्रेसन) गरी गर्भमा रहेको शिशुलाई जीवितै उद्धार गरेका छन्। अहिले नवजात शिशुको अवस्था भने स्थिर रहेको जनाइएको छ।

    प्रहरी अनुसन्धानका क्रममा आमाले घरायसी विवादकै कारण यस्तो खतरनाक कदम चालेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। “दिनदिनै विवाद हुने गरेको भन्ने बुझिएको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक यादवले बताए।

    स्थानीयवासीहरू घटनाबाट स्तब्ध छन्। बालबालिकाको अकाल मृत्युले गाउँमा शोकको छायाँ छाएको छ। प्रहरीका अनुसार घटनाबारे थप विस्तृत जानकारी अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

    प्रकाशित : मंगलबार, ९ बैशाख २०८२ , ०५:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend