logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

६ दशकदेखि अनागरिक जीवन बिताउँदै कुन्जुम पाल्पु लामा

६ दशकदेखि अनागरिक जीवन बिताउँदै कुन्जुम पाल्पु लामा


  • सोमबार, जेष्ठ २५ २०८३
  • 702
    SHARES

    लोकसारथि संवाददाता, मुगु ।

    मुगुम कार्मारोङ गाउँपालिका–८, माग्री गाउँकी ६२ वर्षीया कुन्जुम पाल्पु लामा विगत ६ दशकदेखि नागरिकताविहीन जीवन बिताउन बाध्य भएकी छन्। राज्यले कुनै पनि नागरिक आधारभूत सेवा–सुविधाबाट वञ्चित नहुने प्रतिबद्धता जनाउँदै आए पनि नागरिकता अभावका कारण कुन्जुमले आजसम्म नागरिकका रूपमा पाउनुपर्ने अधिकार र सुविधाबाट वञ्चित हुनुपरेको छ।

    शारीरिक रूपमा अशक्त कुन्जुमको दैनिक जीवन निकै कष्टकर रहेको छ। उनको सहाराका रूपमा रहेका दाइ यांगेप लामा पनि शारीरिक रूपमा अशक्त छन्। दुवै जना एकअर्काको भरमा जीवनयापन गरिरहेका छन्।

    “बहिनी शारीरिक र मानसिक रूपमा अशक्त छिन्। म आफैं पनि पूर्ण रूपमा सक्षम छैन,” यांगेप लामाले भने, “कुन्जुमको अहिलेसम्म नागरिकता बन्न सकेको छैन, जसका कारण उहाँले कुनै पनि सरकारी सुविधा पाउनुभएको छैन।”

    नागरिकता नहुँदा कुन्जुमले अपांगता परिचयपत्रसमेत बनाउन सकेकी छैनन्। यसका कारण वृद्धभत्ता, अपांगता भत्ता, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा लगायतका आधारभूत सरकारी सेवाबाट उनी वञ्चित रहँदै आएकी छन्।

    अभिलेख अभावले जटिल बन्यो नागरिकता प्रक्रिया

    स्थानीय जनप्रतिनिधिका अनुसार कुन्जुमका आमा एउटै भए पनि बुवा फरक भएका कारण उनका बुवासम्बन्धी नागरिकताको अभिलेख फेला पर्न सकेको छैन। यही कारण नागरिकता बनाउने प्रक्रिया थप जटिल बनेको छ।

    वडा नम्बर–८ का अध्यक्ष पेमा टोन्डुल लामाले आवश्यक कागजातको अभाव, दुर्गम भौगोलिक अवस्था र प्रशासनिक पहुँचको कठिनाइ मुख्य समस्या बनेको बताए।

    “वडा कार्यालयले नागरिकता र अपाङ्गता परिचयपत्र बनाउन आवश्यक पहल गर्दै आएको छ,” उनले भने, “तर पुराना अभिलेख नपाइएकाले प्रक्रिया अगाडि बढाउन समस्या भइरहेको छ।”

    संवैधानिक अधिकारबाट वञ्चित

    नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर दुर्गम क्षेत्रका गरिब, अशक्त तथा असहाय नागरिक अझै पनि ती अधिकारको पहुँचबाट टाढा रहेको कुन्जुमको घटनाले देखाएको छ।

    नागरिकता व्यक्तिको पहिचानमात्र नभई राज्यबाट प्राप्त हुने अधिकार र सेवाको आधार हो। तर जीवनका छ दशक पार गर्दा पनि कुन्जुमले यो आधारभूत अधिकार प्राप्त गर्न सकेकी छैनन्।

    प्रशासनको सकारात्मक संकेत

    मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले आवश्यक प्रमाण र प्रक्रियाका आधारमा नागरिकता उपलब्ध गराउन प्रशासन सकारात्मक रहेको बताए।

    “सम्बन्धित व्यक्तिको अवस्था संवेदनशील भएकाले प्रशासनले आवश्यक सहजीकरण गर्नेछ,” उनले भने, “वडाबाट आवश्यक सिफारिस र प्रमाण जुटेपछि कानुनअनुसार नागरिकता उपलब्ध गराउने विषयमा प्रशासन सकारात्मक छ।”

    दैनिक गुजारामै कठिनाइ

    स्थानीयवासीका अनुसार कुन्जुम र उनका दाइ यांगेप लामाको आर्थिक अवस्था अत्यन्त कमजोर छ। उनीहरूलाई दैनिक खान–लाउनको समेत समस्या रहेको बताइएको छ।

    स्थानीयले सम्बन्धित निकायले विशेष पहल गरी कुन्जुमलाई नागरिकता उपलब्ध गराउन र सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेका छन्। मुगुको दुर्गम बस्तीमा बस्ने एक अशक्त महिलाले ६ दशकसम्म नागरिकताको अधिकार नपाउनु राज्यका लागि गम्भीर प्रश्न बनेको स्थानीयवासीको भनाइ छ।

    प्रकाशित : सोमबार, २५ जेष्ठ २०८३ , ०२:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend