logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आजदेखि संसदको हिउँदे अधिवेशन

आजदेखि संसदको हिउँदे अधिवेशन


  • शुक्रबार, माघ १८ २०८१
  • 728
    SHARES

    काठमाडौं– सङ्घीय संसदको अधिवेशन आज शुक्रवार दिउँसो १ः०० बजेदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ ।

    आज उद्घाटन शत्रमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्य सूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नेछन् ।

    बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने तयारी गरेका छन् । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ पेस गर्नेछन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ तथा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ पेस गर्नेछन् ।

    यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ लगायत अध्यादेश पनि पेस गर्ने कार्यसूची छ ।

    कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ पेस गर्नेछन् ।

    बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘मिडिया काउन्सिल विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदन’ तथा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूचि रहेको छ ।

    प्रकाशित : शुक्रबार, १८ माघ २०८१ , ०५:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend