logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अर्थमन्त्री पौडेलको स्पष्टोक्ति: ‘अध्यादेश मुलुकका समस्या समाधानका लागि ल्याइएको हो’

अर्थमन्त्री पौडेलको स्पष्टोक्ति: ‘अध्यादेश मुलुकका समस्या समाधानका लागि ल्याइएको हो’


  • सोमबार, माघ २१ २०८१
  • 390
    SHARES

    लोकसारथि, माघ २१ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकका समस्या समाधान गर्नकै लागि अध्यादेश ल्याइएको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सरकारले समस्याको गतिरोध तोड्न सशक्त पहल गरेको बताए।

    “सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोड्नका लागि उठाएको सशक्त पहल हो,” पौडेलले भने, “यसका सकारात्मक नतिजा क्रमशः देखिन थालेका छन्।” उनले अध्यादेशका विषयहरूलाई गहिरो अध्ययन र छलफल गरेर नागरिकसमक्ष सही सूचना पुर्‍याउन सञ्चारकर्मीहरूलाई आग्रह गरे।

    अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कामप्रति नेपाली कांग्रेस र नेकपा (एमाले) समेत सहमत रहेको दाबी गरे। “अहिले सरकार ढल्छ भन्ने चर्चा कम हुँदै गएको छ,” उनले थपे, “जसको सरकार ढाल्ने शक्ति छैन, उसैले सरकार ढल्छ भनेर हल्ला गरिरहेको छ।”

    पौडेलले वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी लिएको उल्लेख गर्दै मुलुकको ओरालो यात्रा रोकी सकारात्मक दिशातर्फ अघि बढाइरहेको बताए। “सरकार अब सकारात्मक दिशातर्फ अघि बढेको छ। यो गतिलाई तीव्र बनाउँदै मुलुकलाई स्थायित्व र विकासको बाटोमा अग्रसर गरिरहेका छौं,” उनले भने, “देश बन्छ, मेरो भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास नागरिकमा जगाउन सक्नेछौं।”

    सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐनबारे फैलिएको भ्रमबारे उनले संविधानले प्रदान गरेका वाक तथा प्रेस स्वतन्त्रताका अधिकारहरू विरोधी नभएको स्पष्ट पारे। “सामाजिक सञ्जाल नियमन विधेयक वाक स्वतन्त्रताविरुद्ध होइन,” पौडेलले भने, “यस विषयमा अनावश्यक भ्रम फैलाउने प्रयास भइरहेको छ, जुन सत्य होइन।”

    कार्यक्रममा पत्रकार महासंघका पदाधिकारीहरू, स्थानीय सञ्चारकर्मीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलले सरकार र सञ्चार माध्यमबीच पारदर्शिता र सूचनाको प्रभावकारी प्रवाहको आवश्यकता औंल्याएको छ।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , ०७:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend