कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भित्रको गुटबन्दी सुदूरपश्चिम प्रदेशमा गहिरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका निर्देशनहरू कार्यान्वयन हुन नसक्दा पार्टी भित्रको आन्तरिक द्वन्द्व थप चर्किएको छ ।
सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद समाधान गर्नका लागि माओवादी अध्यक्ष प्रचण्डले विभिन्न समयमा सर्कुलर जारी गरे पनि ती निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । माघ २७ गते प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा समेत गुटबन्दीको प्रभाव परेको आरोप लागेको छ ।
गत वर्ष माघ १२ गते बहुमतले हटाइएका खगराज भट्टलाई पुनः दलको नेता बनाउने प्रचण्डको निर्देशन पटक-पटक अवमूल्यन भएको छ । उपमहासचिव वर्षमान पुन अनन्तको हस्तक्षेपपछि प्रचण्डले पठाउन चाहेको सर्कुलर नै परिवर्तन गरिएको स्रोतहरूको दाबी छ । यसले प्रचण्डको आफ्नै निर्देशन कार्यान्वयन गर्ने क्षमतामा प्रश्न उठाएको छ ।
पार्टी कार्य विभाजनमा गुटबन्दीको प्रभाव
पार्टीले हालै गरेको कार्य विभाजनमा पनि गुटबन्दीको स्पष्ट प्रभाव देखिएको छ । सुदूरपश्चिमबाट बिना मगर बाहेक अरूलाई प्रमुख जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टि बढेको छ । ६३ जना केन्द्रीय सदस्यमध्ये ९ जनाले मात्र जिम्मेवारी पाएको र बाँकीलाई बञ्चित गरिएको आरोप लागेको छ ।
सह इन्चार्जको दौडमा रहेका त्रिलोचन भट्ट, लक्ष्मणदत्त जोशी, विरमान चौधरी, हरि ज्ञवाली अखण्ड, नेप बहादुर चौधरी र लोकेन्द्र लम्साल जस्ता आकाङ्क्षीहरूलाई पनि गुटकै कारण जिम्मेवारी नदिइएको माओवादी नेताहरू बताउँछन् ।
माओवादी सांसद शिवसिंह ओलीले सामाजिक सञ्जालमा गुटबन्दीका कारण नेतृत्वले विश्वास गर्न नसकेको र कार्यकर्ताहरूमा निराशा बढिरहेको उल्लेख गरेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व उपसभामुख निर्मला बडाल जोशीले पनि कार्य विभाजनलाई लिएर प्रश्न उठाउँदै नेतृत्वको निर्णयलाई ‘विडम्बनापूर्ण’ बताएकी छन् ।
नयाँ सर्कुलरमा संसदीय दलको विषयसँगै बैतडीका प्रेम प्रकाश भट्ट र बाजुराका मनलाल खत्रीलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । तर, सुदूरपश्चिमका अन्य नेताहरूले गुटबन्दीका कारण आफूहरूलाई उचित जिम्मेवारी नदिइएको गुनासो गरिरहेका छन् ।
माओवादी केन्द्र भित्रको गुटबन्दीले पार्टीलाई थप अस्थिर बनाउने खतरा बढेको छ । नेतृत्व तहमा निरन्तर निर्णय अवमूल्यन भइरहँदा कार्यकर्ताहरूमा नैराश्यता बढ्दै गएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
