logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दिगो विकासका लागि पुराना ऐन कानुन परिमार्जन गर्नुपर्ने: मन्त्री गुरुङ

दिगो विकासका लागि पुराना ऐन कानुन परिमार्जन गर्नुपर्ने: मन्त्री गुरुङ


  • बुधबार, फाल्गुन २८ २०८१
  • 1.6K
    SHARES

    लोकसारथि, २८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुन तथा कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रविधिको विकाससँगै टेलिकम उद्योग पुनरुत्थानका लागि ऐन कानुन परिमार्जन गर्नु आवश्यक रहेको बताए।

    उनले प्रविधिको तीव्र विकासलाई आत्मसात् गर्दै टेलिकम क्षेत्रको उन्नति गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उल्लेख गरे। मन्त्री गुरुङले आफू प्रविधिको क्षेत्रमा सुधार ल्याउन प्रयासरत भए पनि सोचेअनुसारको काम गर्न नसकेको स्वीकारे।

    विधेयक पारितमा ढिलाइ हुँदा समस्या

    मन्त्री गुरुङले कानुन निर्माण प्रक्रियामा अत्यधिक समय लाग्ने समस्या औंल्याउँदै संसद्ले विधेयक अघि बढाउने टाइमलाइन तोक्नुपर्ने धारणा राखे। उनका अनुसार विधेयक पास गर्न ५–६ वर्षसम्म लाग्ने भएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानून बनाउन सरकारले अध्यादेश ल्याउनुपरेको हो।

    सामाजिक सञ्जाल दुरुपयोग रोक्न विधेयक आवश्यक

    समाजलाई विभाजन गर्ने प्रयास नियन्त्रण गर्न सामाजिक सञ्जाल विधेयक आवश्यक रहेको उनको भनाइ छ। उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने गतिविधि भइरहेको बताउँदै दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको आरोप लगाए।

    दूरसञ्चार ऐन संशोधन अन्तिम चरणमा

    मन्त्री गुरुङका अनुसार दूरसञ्चार ऐन संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ। सबै सरोकारवालासँग छलफल गरी आवश्यक सुधारपछि ऐनलाई सदनमा पेश गरिने उनले जानकारी दिए।

    उनले प्रविधिको युगमा कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै टेलिकम क्षेत्रको विकासका लागि नयाँ प्रविधिहरूको अवलम्बन गर्नुपर्नेमा जोड दिए।

    प्रकाशित : बुधबार, २८ फाल्गुन २०८१ , ०७:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend