लोकसारथि, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता प्रदान गरिने जानकारी दिएका छन्। उनले यसै आर्थिक वर्षमा कम्तिमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने उल्लेख गरे।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरुलाई आकर्षित गर्न सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने योजना अघि बढाइएको बताए। इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उनले जानकारी गराए।
युवाहरूका लागि रोजगारी र उद्यमशीलताको अवसर प्रधानमन्त्री ओलीका अनुसार सरकारले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरिसकेको छ। उनका अनुसार, संसार अहिले ग्लोबल भिलेज भएकोले व्यवसाय, रोजगारी र अध्ययनका लागि विभिन्न विकसित देशका नागरिकहरू समेत विदेश गइरहेका छन्। उनले देशका युवा विदेशिनु नकारात्मक मात्रै होइन भन्ने धारणा राख्दै, अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो नभएको स्पष्ट पारे।
“देशलाई माया गर्ने कुरा सिकाउनु आवश्यक छ। आफ्नो देश बनाउन युवाहरूलाई प्रेरित गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने। उनले सरकार युवाहरुलाई रोजगारी मात्र नभई उद्यमशीलता सिकाउँदै सहुलियतपूर्ण ऋण तथा स्टार्टअप ऋण सहायता प्रदान गर्दै आएको जानकारी दिए। विशेषगरी महिला उद्यमीहरुलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे।
औद्योगिक लगानी प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरण सरकारले औद्योगिक लगानीको वातावरण सुधार गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न विभिन्न नीतिगत सुधारहरू गरेको प्रधानमन्त्री ओलीले बताए। उनले स्वदेशी उत्पादन अभिवृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको योजना रहेको उल्लेख गरे।
प्रधानमन्त्रीका अनुसार, कृषि उत्पादनलाई प्रवर्द्धन गर्न धान, गहुँ तथा उखु बालीको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अवलम्बन गरिएको छ। साथै, उपभोगमुखी आयातलाई नियन्त्रण गर्न विलासिताका वस्तुहरूमा उच्च भन्सार महशुल लगाउने तथा आवश्यकताअनुसार परिमाणात्मक बन्देजसमेत लगाइने जानकारी उनले दिए।
लुम्बिनीमा सुविधा सम्पन्न बर्थिङ अस्पताल स्थापना प्रधानमन्त्री ओलीले मातृशिशु स्वास्थ्य सुधार गर्न संघ, प्रदेश तथा स्थानीय तहका अस्पतालमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ अस्पताल निर्माण गर्न नेपाल सरकार, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोग तथा UNFPA Nepal को सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विकास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले विभिन्न प्रोत्साहन कार्यक्रम अघि बढाइरहेको छ। प्रधानमन्त्रीका अनुसार, यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ तथा पार्किङ शुल्कमा सहुलियत प्रदान गरिएको छ। हाल उक्त विमानस्थलबाट अलजजिरा, फ्लाई दुबई, एअर एसिया तथा नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्।
सरकारले श्रम तथा रोजगार कार्यालय बुटवलमार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरिसकेको छ। साथै, अध्यागमन, मुद्रा सटही तथा बैंकिङ सेवाहरू विमानस्थलमै उपलब्ध गराउने योजना रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए।
उनले भविष्यमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न योजनाहरू कार्यान्वयन भइरहेका बताए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
