लोकसारथि डेस्क, १३ चैत । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन सुनिश्चितताको माग गर्दै रिले अनशन सुरु गरेको छ।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको थियो। तर, सम्पूर्ण तयारी पूरा भइसके पनि विभिन्न बहानामा निर्वाचन रोकिएको भन्दै नेविसंघले विरोध स्वरूप अनशन सुरु गरेको हो।
नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस इकाई अध्यक्ष महेशमणी पौडेलका अनुसार नेविसंघको जीत सुनिश्चित भएपछि नियोजित रूपमा निर्वाचन रोकिएको छ। उनले भने, ‘कलेजमा हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ। हामी विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न निर्वाचन चाहन्छौँ।’
आजको अनशनमा नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँ बसेका छन्। उनले स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न, निर्देशिका कार्यान्वयन गर्न, र विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न माग गरेका छन्।
मियाँले चेतावनी दिँदै भने, ‘हामी स्ववियु निर्वाचन चाहन्छौँ। यदि हाम्रो मागलाई बेवास्ता गरियो भने रिले अनशनलाई आमरण अनशनमा परिवर्तन गर्नेछौँ।’
ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। यस वर्ष निर्वाचनका सम्पूर्ण तयारी पूरा भइसके पनि क्याम्पस प्रशासनले निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
