logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शिक्षक आन्दोलनले भर्ना अभियान तथा ग्रेडबृद्धि परीक्षा स्थगित

शिक्षक आन्दोलनले भर्ना अभियान तथा ग्रेडबृद्धि परीक्षा स्थगित


  • शनिबार, बैशाख ६ २०८२
  • 741
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको आन्दोलनले देशभरको शैक्षिक वातावरणमा गम्भीर असर पारेको छ । सरकारले वैशाख २ गतेदेखि सुरुवात गरेको विद्यार्थी भर्ना अभियान र वैशाख ५ गतेदेखि गरिने पाठ्यपुस्तक वितरण कार्यक्रमसमेत स्थगित भएको छ । यस आन्दोलनका कारण कक्षा ८ को ग्रेडवृद्धि परीक्षा समेत रोकिएको छ ।

    इन्सेकका विभिन्न जिल्लास्तरीय प्रतिनिधिहरूको अनुसार, शिक्षक आन्दोलनले दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, बझाङलगायतका जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ । विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने अभिभावकहरूमा चिन्ता थपिएको छ ।

    दार्चुलामा महेन्द्र माध्यमिक विद्यालय खलंगा, मालिकार्जुन माध्यमिक विद्यालय धाप, लेकमको लटिनाथ माध्यमिक विद्यालय चौपाता लगायतका विद्यालयले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेका छन् । प्रधानाध्यापक दामोदर जोशीका अनुसार अर्को सूचना नआएसम्म सबै कार्यक्रम रोकिने छन् ।

    कञ्चनपुरका शैक्षिक संस्थाहरुले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरेका छन् । शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टका अनुसार विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी राखिनेछ ।

    कैलालीमा पनि पठनपाठन रोकिएको छ । छात्र दिपेश चौधरीले कक्षा सातमा भर्ना हुन नसकेको गुनासो गरेका छन् भने अभिभावक रामलाल रानाले समयमा भर्ना नभएर शिक्षाको गुणस्तरमा असर पर्ने बताएका छन् ।

    डोटीका सूचना अधिकारी पदमबहादुर साउदका अनुसार जिल्लाका अधिकांश विद्यालयले विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् र कक्षा ८ को ग्रेडवृद्धि परीक्षा समेत रोकिएको छ । श्रोत शिक्षक खडक बागका अनुसार वार्षिक शैक्षिक योजना समेत प्रभावित भएको छ ।

    डडेल्धुराका विद्यालयहरु पनि आन्दोलनको प्रभावमा परेका छन् । घटाल माविका प्रधानाध्यापक गणेशबहादुर साउदले विद्यालय पूर्णरुपमा बन्द भएको बताए । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनसिंह भाटका अनुसार ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको छ । डडेल्धुरा जिल्लाबाट शिक्षक आन्दोलनलाई आर्थिक सशक्तीकरण दिनका लागि शिक्षक र कर्मचारीबाट आर्थिक सहयोग संकलन समेत गरिएको छ ।

    बझाङ जिल्लाका विद्यालयले पनि विद्यार्थी भर्ना कार्यक्रम संचालन गर्न सकेका छैनन् । जयपृथ्वी नगरपालिकाले सूचना जारी गरी ग्रेड बृद्धि परीक्षा स्थगन गरिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले आन्दोलन जारी रहेसम्म कुनै पनि शैक्षिक गतिविधि अगाडि नबढ्ने बताएका छन् ।

    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएको हो । महासंघले शैक्षिक हड्ताल घोषणासँगै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा भ्रमण लगायतका सम्पूर्ण गतिविधिमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

    यस आन्दोलनका कारण हजारौं बालबालिका शिक्षाबाट वञ्चित भएका छन् भने शैक्षिक सत्र ०८२ को शुरुवात नै अन्यौलमा परेको छ । सरकारले माग सम्बोधन नगरे शिक्षक आन्दोलन अझ चर्किने संकेत देखिएको छ ।

    प्रकाशित : शनिबार, ६ बैशाख २०८२ , ०४:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend