– लोकसारथि संवाददाता।
काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन २१ दिन नाघेसँगै नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने औपचारिक निर्णय गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक महासङ्घले तीव्र असहमति जनाउँदै शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीलाई परीक्षा लगायतका सम्पूर्ण शैक्षिक कार्य बहिष्कार गर्न अपिल गरेको हो।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,
“काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौं। त्यस्तै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दछौं।”
महासङ्घले शीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको समुचित व्यवस्थापन र गुणस्तर विकासका लागि जारी आन्दोलनमा साथ र समर्थन गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र सबै शैक्षिक सरोकारवालाहरूप्रति पनि अपिल गरेको छ।
यसअघि शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षक महासङ्घसँगको छलफलपछि तयार पारेको ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने प्रयास गरेकी थिइन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री विष्णु पौडेलको असहयोगका कारण त्यो प्रस्ताव पारित नहुने देखिएपछि मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन्।
परीक्षा बहिष्कारको घोषणासँगै कक्षा १२ का लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने सरकार र शिक्षक महासङ्घबीचको संवाद अझै अनिर्णीत अवस्थामा देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
