logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रास्वपा सांसद गौतमको आरोप : ‘रवि लामिछानेविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध हो’

रास्वपा सांसद गौतमको आरोप : ‘रवि लामिछानेविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध हो’


  • शनिबार, बैशाख २० २०८२
  • 988
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा राजनीतिक प्रतिशोधको आधारमा बनाइएको दाबी गरेकी छन्।

    कास्कीको रुपा गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले लामिछानेमाथिको मुद्दा ‘टालटुल गरेर बनाइएको’ र त्यसमा ‘कुनै कानुनी दम नरहेको’ बताइन्। आफू कानुन अध्ययन गरेकी सचेत नागरिक भएको उल्लेख गर्दै उनले भनिन्, “रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध हो। त्यो टालटुल गरेर बनाइएको हो।”

    गौतमले लामिछानेप्रति न्यायालयले निष्पक्ष निर्णय गर्ने विश्वाससमेत व्यक्त गरिन्। “न्यायालयले पक्कै पनि रविजीलाई न्याय दिनेछ,” उनले भनिन्, “उहाँमा नेपाली जनताको ठुलो आशा र विश्वास छ।”

    उनले वर्तमान सरकारले रास्वपाले उठाएका भ्रष्टाचारका मुद्दा दबाउन खोजिरहेको आरोपसमेत लगाइन्। पोखरा विमानस्थलमा भएको १४ अर्बको भ्रष्टाचार, वाइडबडी विमान खरिद काण्ड र गिरिबन्धु कपडा उद्योग प्रकरणमा रास्वपाले संसदीय छानबिनमार्फत नजिर बसाएको उल्लेख गर्दै उनले भनिन्, “अब ती छानबिनहरूलाई ढाकछोप गर्न खोजिँदैछ।”

    भुटानी शरणार्थी प्रकरणमा रास्वपाको सक्रियताले अनुसन्धान अघि बढेको दाबी गर्दै उनले भनिन्, “त्यो फाइल खुलिसकेको थियो, फेरि पनि हामीले खोजी जारी राख्यौँ। अब त्यो दबाउन दिइने छैन।”

    सांसद गौतमले १० महिनामा सरकार निरन्तर विवादमा मुछिएको भन्दै जनताको निराशा बढेको बताइन्। “प्रत्येक दिन कुनै न कुनै घोटाला र विवाद बाहिर आउँदै छ,” उनले भनिन्, “सरकारले परिणाममुखी काम गर्न सकेको छैन।”

    रास्वपाको मूल उद्देश्य भ्रष्टाचारविरुद्ध संघर्ष र जनताको विश्वास जित्नु रहेको उल्लेख गर्दै उनले पार्टीको अभियान रोक्न खोजिए पनि अन्ततः सत्यको विजय हुने विश्वास व्यक्त गरिन्।

    प्रकाशित : शनिबार, २० बैशाख २०८२ , ०७:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend