लोकसारथि संवाददाता, काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई संस्थाभित्र राजनीति नगरी एकतामा जोड दिन आग्रह गरेकी छन्।
शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनमा बोल्दै मन्त्री राणाले संघलाई राजनीति गर्ने संस्था नभएको स्पष्ट पार्दै संस्थाको पवित्र उद्देश्य पूरा गर्न सबै पक्ष एक भएर अघि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, “एनआरएनएमा देखिएको विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशअनुसार महाधिवेशन हुन लागेको हो। अब सबै मिलेर यसलाई सफल बनाउनु जरूरी छ।”
परराष्ट्रमन्त्री राणाले नेपालमा रहेको स्रोतसाधनलाई प्रविधि र व्यवस्थापनमार्फत प्रयोग गर्दै विकासमा टेवा दिन गैरआवासीय नेपालीहरूको भूमिकालाई महत्त्वपूर्ण बताइन्। उनले सबै क्षेत्रमा राजनीति गरेर देश नचल्ने भन्दै विकासमा साझा प्रयासको आवश्यकता रहेको उल्लेख गरिन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संस्थामाथि आरोप–प्रत्यारोप नगरी यसलाई समयसापेक्ष रूपमै अघि बढाउनुपर्ने बताए। उनले संस्थालाई बलियो बनाएर अघि लैजान महाधिवेशनलाई एउटा अवसरको रूपमा लिनुपर्ने धारणा राखे।
गैरआवासीय नेपाली संघ लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको थियो। उक्त विवाद समाधान गर्न सर्वोच्च अदालतले महाधिवेशन गर्न परमादेश दिएपछि उच्चस्तरीय समिति गठन गरी अहिलेको एकता महाधिवेशनको आयोजना गरिएको हो। महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व समेत चयन हुने जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
