logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले धनुषाको जिल्ला नेतृत्वका लागि आज चुनाव हुँदै

एमाले धनुषाको जिल्ला नेतृत्वका लागि आज चुनाव हुँदै


  • मंगलबार, बैशाख २३ २०८२
  • 1K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा (एमाले) धनुषाको जिल्ला नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। धनुषा जिल्लाको आठौँ जिल्ला अधिवेशनअन्तर्गतको बन्दसत्रमा सहमति नजुटेपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

    पार्टीको केन्द्रीय सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ तथा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज जुलीकुमारी महतोले सहमतिको पहल गरे पनि नेता उमाशंकर अगरागरिया र मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पक्ष सहमतिमा नआएपछि अन्ततः निर्वाचनको बाटो रोजिएको हो।

    प्रारम्भमा वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसहित उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मीनारायण यादव र सन्तोष यादव अध्यक्ष पदका आकांक्षीका रूपमा देखिएका थिए। तर अन्तिम समयमा सहमति नजुटेपछि अध्यक्ष पदका लागि दुई समूहबीच प्रतिस्पर्धा तय भएको छ।

    महासेठ–महतो समूहबाट अध्यक्ष पदमा भोला यादव उम्मेदवार बनेका छन् भने अगरागरिया–सभामुख मण्डल समूहबाट लक्ष्मीनारायण यादव अध्यक्षका लागि प्रतिस्पर्धामा छन्।

    भोला यादव नेतृत्वको टिममा उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर ‘दीपन’, उपसचिवमा सविन विक्रम थापा र महिला उपसचिवमा रुका कुमारी मिश्र उम्मेदवार छन्।

    त्यस्तै, लक्ष्मीनारायण यादव नेतृत्वको टिममा उपाध्यक्षमा जयप्रकाश सोनरैत, सचिवमा धीरेन्द्रकुमार मण्डल, उपसचिवमा सुरेश ठाकुर र महिला उपसचिवमा किरण कापर उम्मेदवार बनेका छन्।

    पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास अन्तर्गतको यो निर्वाचन प्रक्रियाले धनुषामा एमालेको भावी नेतृत्व तय गर्नेछ। निर्वाचन प्रक्रियापछि आजै नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : मंगलबार, २३ बैशाख २०८२ , ०९:०५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend