– लोकसारथि संवाददाता, काठमाडौं ।
राजसंस्था पुनःस्थापना, सनातन हिन्दू राष्ट्रको पुनर्गठन र संघीयताको खारेजीको माग गर्दै राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि मुलुकमा राजावादी र गणतन्त्रवादी शक्तिबीच प्रत्यक्ष टकरावको अवस्था सिर्जना भएको छ।
नवराज सुवेदीको संयोजकत्वमा गठित समितिले आन्दोलनको नेतृत्व लिँदै वर्तमान व्यवस्था परिवर्तन गर्ने दाबी गरेको छ। संयोजक सुवेदीका अनुसार, “हाम्रो आन्दोलन सरकार वा कुनै दलविरुद्ध होइन, जनताका अधिकारका लागि हो।” यस आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल लगायतका राजसंस्था समर्थक दल तथा संगठनहरूले साथ दिँदैछन्।
गणतन्त्रवादीको प्रतिरोध : एमाले र माओवादी आक्रामक
राजावादीको आह्वानपछि नेकपा (एमाले) ले जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा भव्यताका साथ मनाउने निर्णय गर्दै राजावादी आन्दोलनको प्रतिकार गर्ने तयारी थालेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई जेठ १५ गते काठमाडौंमा एमालेको पूर्ण नियन्त्रण रहनुपर्ने निर्देशन दिएका छन्।
ओलीले राजावादी आन्दोलनलाई “खाओवादी” शैलीको भन्दै खण्डन गर्दै भने, “यिनीहरू हाम्रो राजा हाम्रो देश भन्दै नारा लगाउँछन्, तर वीरेन्द्रको हत्याको बेला कहाँ थिए ? झुटा कुरा गर्ने यिनीहरू देशको भलोको लागि होइन, अराजकता फैलाउन सक्रिय छन्।”
प्रचण्डको चेतावनी : ‘राजावादी बेलुन फूटिसक्यो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि राजावादीहरूलाई प्रतिकार गर्न नेताहरूलाई आह्वान गरेका छन्। उनले सुर्खेतमा सम्बोधन गर्दै भने, “राजावादीहरूको बेलुन त चैत्र १५ कै प्रदर्शनले फूटिसकेको हो। उनीहरू त जनताका शोषक हुन्, आफ्नो राजवंशको हत्यामा समेत मौन बसेका थिए। तिनको नेतृत्वमा देशको रक्षा हुन सक्दैन।”
प्रचण्डले जनतालाई गाउँ–टोलमा सचेत गराउँदै राजावादीहरूको प्रतिक्रान्तिकारी अभियानलाई निस्तेज पार्नुपर्ने अपिलसमेत गरेका छन्।
राप्रपाको चुनौती : ‘लाखौं जनता सडकमा उत्रिए गणतन्त्र एक दिनमै समाप्त हुन्छ’
यसबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रप्रति जनतामा चर्को असन्तोष रहेको भन्दै लाखौं जनता सडकमा उत्रिए गणतन्त्र एक दिनमै समाप्त हुने दाबी गरेका छन्। उनले भने, “देश बिग्रिए नेताहरूको केही बिग्रँदैन, तर युवाहरूको भविष्य चौपट हुन्छ। त्यसैले युवाहरू नै अघि सर्नुपर्छ।”
कांग्रेसको सतर्कता : ‘विरोध गर्न पाउने तर संविधान विरोध उचित होइन’
नेपाली कांग्रेसले पनि राजावादी आन्दोलनप्रति सतर्कता अपनाउँदै संविधानको विरोधमा जानु अस्वीकार्य भएको जनाएको छ। पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले भने, “शान्तिपूर्ण रूपमा आफ्ना विचार राख्न पाइन्छ तर संविधानको अवज्ञा गरेर होइन। विरोधको शैली लोकतान्त्रिक हुनुपर्छ।”
मन्त्रिपरिषद्मा विषय प्रवेश, सरकारको चर्को प्रतिक्रिया
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पनि राजावादीको आन्दोलनबारे छलफल भएको छ। प्रधानमन्त्री ओलीले राजावादीको सक्रियता संविधानको मूल मर्मविपरीत भएको भन्दै “नतिजा आउनेगरी” प्रतिकार गर्न मन्त्रिपरिषदका सदस्यहरूलाई निर्देशन दिएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि राजावादीहरूलाई संविधान विरोधी गतिविधिको उत्तर दिन सरकार तयार रहेको चेतावनी दिएका छन्। “सरकार टुलुटुलु हेरेर बस्दैन,” उनले भने, “आवश्यक प्रतिवाद हुन्छ।”
संविधानको रक्षा वा व्यवस्थाको परिवर्तन ?
जेठ १५ को मिति नजिकिँदै गर्दा देशभरि राजावादी र गणतन्त्रवादी शक्तिबीचको तनाव चुलिँदो छ। राजावादीले जनभावनाको बलमा व्यवस्थापरिवर्तनको कुरा गरिरहेका छन् भने गणतन्त्रवादीहरू संविधानको रक्षा गर्न सडकमा उत्रने तयारीमा छन्।
अबको प्रश्न हो – जनताले कुन बाटोलाई चुन्छन् ? संविधानको निरन्तरता या व्यवस्थामा फेरबदल ? जेठ १५ पछि यसप्रति जनमत स्पष्ट हुने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
