logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

गणतन्त्रविरुद्ध भोलिदेखि विशेष लडाइँ सुरु हुने : राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

गणतन्त्रविरुद्ध भोलिदेखि विशेष लडाइँ सुरु हुने : राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी


  • आइतबार, जेष्ठ १८ २०८२
  • 624
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    राजावादी आन्दोलन तीव्र बन्दै गएको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्ध ‘खास लडाइँ’ भोलिदेखि सुरु हुने चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो चेतावनी दिएका हुन्।

    लिङ्देनले सरकार, गृहमन्त्री र प्रहरी प्रमुखलाई चेतावनी दिँदै भने, ‘कमल थापालाई यहीँ ल्याइदिनुस्। होइन भने भोलिदेखि देशभरबाट साथीभाइलाई बोलाएर खास लडाइँ सुरु हुन्छ। अब एक ठाउँबाट होइन, ५० ठाउँबाट आन्दोलन निस्कन्छ।’

    उनले उपत्यकाभर प्रदर्शन चर्किने, आवश्यकता परे उपत्यका बन्दसमेत हुने दाबी गरे। ‘भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ,’ लिङ्देनले घोषणा गरे।

    “गणतन्त्र लुटतन्त्रमा रूपान्तरित”

    गणतन्त्रको नाममा देशमा लुटतन्त्र चलिरहेको आरोप लगाउँदै लिङ्देनले अब आन्दोलनमा जनताको सिंगो परिवारसहित सडकमा उत्रिने बताएका छन्। ‘हामी एक एक गरेर होइन, सिंगै परिवार लिएर सडकमा निस्किन्छौँ,’ उनको भनाइ थियो।

    उनले प्रदर्शनलाई कमजोरी नठान्न पनि चेतावनी दिए। ‘जहाँ जा भन्यो त्यहीँ गएका छौँ भनेर हामीलाई कमजोर ठान्नेलाई म भन्छु— यो गणतन्त्र ढिलो चाँडो ढाल्ने नै हो,’ उनले दोहो¥याए।

    ‘नेतालाई गिरफ्तार गर्नु स्वीकार्य छैन’

    कमल थापा लगायतका नेताहरूलाई गिरफ्तार गर्नु अस्वीकार्य भन्दै लिङ्देनले आक्रोश पोखे। ‘हामीलाई कहिले यता जा भन्ने, कहिले त्यता। नेताहरूलाई गिरफ्तर गर्ने? अब हामी देखाउँछौँ,’ भन्दै उनले आन्दोलनलाई थप उग्र बनाउने संकेत गरे।

    आन्दोलन अझ व्यापक बन्दै

    राजावादी समूहले जेठ १५ देखि माइतीघर, बालुवाटार, नारायणचौर लगायतका स्थानमा निरन्तर आन्दोलन गर्दै आएका छन्। राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र पुनःघोषणा र संघीयता खारेजीका मागसहित उनीहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरिसकेका छन्।

    राजावादी आन्दोलनका कारण काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले केही क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरिसकेको छ। तथापि, प्रदर्शनकारीले निषेधाज्ञा अटेरी गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

    राजावादी आन्दोलन क्रमशः आक्रोशित रूप लिँदै गएको छ। कमल थापाको पक्राउ र त्यसपछि आएको राप्रपा अध्यक्ष लिङ्देनको उग्र चेतावनीले अब राजनीतिक मञ्चमा थप तरंग ल्याउने निश्चित देखिन्छ। यसैबीच सरकारले आन्दोलनप्रति कस्तो रणनीति अपनाउँछ भन्ने कुराले स्थिति नियन्त्रणमा रहन्छ कि झन् जटिल बन्छ, हेर्न बाँकी छ।

    प्रकाशित : आइतबार, १८ जेष्ठ २०८२ , ०४:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend