logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

भिजिट भिसा प्रकरणको असर : सहमति नजुट्दा प्रतिनिधिसभा बैठक स्थगित

भिजिट भिसा प्रकरणको असर : सहमति नजुट्दा प्रतिनिधिसभा बैठक स्थगित


  • मंगलबार, जेष्ठ २० २०८२
  • 793
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रतिनिधिसभाको आजको बैठक पुनः स्थगित गरिएको छ। बिहान ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर, तय समयमा पनि बैठक सञ्चालन हुन नसकेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

    सभामुखको सचिवालयका अनुसार भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक अघि बढ्न नसकेको हो। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदीय प्रक्रिया अवरुद्ध गर्दै आएका छन्।

    विपक्षीहरूको अडान छ—गृहमन्त्रीको राजीनामा नआएसम्म र घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म संसद चल्न सक्दैन।

    यसअघिका प्रयासमा सहमति जुटाउन सभामुख घिमिरेले सत्ता पक्ष र विपक्षी दलहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। तर, ती छलफलहरूबाट समेत कुनै निष्कर्ष ननिस्केपछि आजको बैठक पनि स्थगित गर्नुपरेको हो।

    विपक्षी दलहरूको लगातारको अवरोध र सरकारको मौनताका कारण संसदिय गतिरोध चर्किंदै जाँदा राष्ट्रिय महत्वका विधेयकहरू समेत प्रभावित हुँदै गएका छन्। अब भोलिको बैठकमा सहमति जुट्ला वा गतिरोध कायमै रहला भन्नेमा राजनीतिक वृत्तको चासो बढेको छ।

    प्रकाशित : मंगलबार, २० जेष्ठ २०८२ , ०३:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend