– लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाल तरुण दलको महाधिवेशन लामो समयसम्म हुन नसकेको र तदर्थ समिति पटकपटक म्याद थप्दै नेतृत्वमा अडिएको भन्दै असन्तुष्ट युवाहरूले शुक्रबार नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
चार सय मोटरसाइकलमा करिब आठ सय जना युवाहरू सानेपा पुगेका थिए। तर, सुरक्षाकर्मीहरूले उनीहरूलाई पार्टी कार्यालयभित्र प्रवेश गर्न दिएनन्। प्रदर्शनकारीहरूमध्ये एक, तरुण दलका सतिन्द्र सिंह ठकुरीले आफूहरूलाई सुरक्षाकर्मीको सहयोगमा बाहिरै पठाइएको बताए।
पार्टी कार्यालयको गेटमै पत्रकार सम्मेलन गरी विज्ञप्ति वितरण गरिएको थियो। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र युवाबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।
“तदर्थवादले संगठन कमजोर बन्यो”
२०७३ सालमा पोखरामा भएको अन्तिम महाधिवेशनपछि अहिलेसम्म नयाँ महाधिवेशन नहुनुलाई तरुण दलको आन्तरिक लोकतन्त्र कमजोर हुनुका साथै संगठन नै दिशाहीन भएको संकेतका रूपमा युवाहरूले व्याख्या गरेका छन्।
उनीहरूले महाधिवेशन हुन नदिने प्रवृत्ति र नेतृत्वलाई जिम्मेवार ठहर गर्दै भनेका छन् –
“नियमित महाधिवेशन भएको भए आज हजारौं तरुणहरू कांग्रेसमा नेतृत्व तहमा पुगिसक्थे। तर, तदर्थ समिति प्रमुखले पार्टीले दिएको जिम्मेवारीलाई बेवास्ता गर्दै ‘घर भत्काएर नयाँ घर बनाउने’ नाममा अन्योल सिर्जना गरेका छन्।”
“तदर्थ समिति विघटन गर्नुपर्छ”
युवाहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ –
“अधिवेशनका लागि केन्द्रीय समिति बेखबर, सम्पत्तिको हकमा अनभिज्ञता, जिल्लामा प्रतिनिधि को-को तोकिने भन्ने कुरा नै थाहा नपाउने अवस्था तदर्थ नेतृत्वको असक्षमता हो।”
उनीहरूले पटक–पटक अध्यक्षको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको र ३ वर्षमा पनि नयाँ नेतृत्व हस्तान्तरण हुन नसकेको भन्दै तदर्थ समिति विघटन गरी नयाँ समिति गठन गर्नुपर्ने माग गरेका छन्।
कांग्रेसभित्र गहिरिँदै गएको कुर्सी विवाद
नेपाली कांग्रेसले चैत मसान्तसम्म सबै भ्रातृ, भगिनी, सुभेच्छुक संगठनहरूको महाधिवेशन गरिसक्न निर्देशन दिएको भए पनि तरुण दललगायत धेरै संगठनले पालना गरेका छैनन्। पार्टी नेतृत्वको “मनपरी पक्षपोषण” नै यसको कारण भएको युवाहरूको आरोप छ।
पार्टीभित्रकै महाधिवेशन पनि आगामी मंसिरसम्म गरिसक्नुपर्ने छ। तर विगतको अनुभवले हेर्दा कांग्रेसमा ‘कुर्सीको रोग’ पुरानै प्रवृत्ति भएको भन्दै “कहिले महाधिवेशन हुन्छ भन्ने टुंगो छैन” भन्ने जनमत पार्टीभित्रै चुलिँदै गएको छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
