काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने विषय डा. संगीता कौशल मिश्रको ‘च्याप्टर क्लोज’ भएपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई पूर्व सचिवको नाम पुगेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार डा. किरण रेग्मी र डा. सुधा शर्माको नाम स्वास्थ्य क्षेत्रबाट सिफारिस भएपछि उनीहरूको ‘बायोडाटा’ समेत मागिएको छ।
मन्त्रालयमा नाम पुगेका दुवै पूर्व सचिव विवाद रहित व्यक्तित्व मानिन्छन्। इतिहासमै पहिलो र दोस्रो महिला स्वास्थ्य सचिवका रूपमा दुवैको योगदान महत्त्वपूर्ण रहिआएको छ।
डा. किरण रेग्मी
महाकवि माधवप्रसाद घिमिरेकी छोरी डा. रेग्मीले स्वास्थ्य संरचनालाई संघीयतामा लैजाने क्रममा सचिवका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। उनले भारतमा एमडी (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ), स्कटल्याण्डमा सार्वजनिक स्वास्थ्यमा मास्टर्स, अष्ट्रेलियामा पीएचडी र अमेरिका (हार्वर्ड विश्वविद्यालय) मा पोष्ट–डक्टरेट अध्ययन गरेकी छन्।
करिब तीन दशक लामो सरकारी सेवामा उनले भरतपुर अस्पताल, वीरगञ्ज उपक्षेत्रीय अस्पताल, प्रसूति गृह लगायत संस्थाको नेतृत्व गरेकी थिइन्। उनी चिकित्सक, प्रशासक, व्यवस्थापक, स्वास्थ्य अर्थशास्त्रीदेखि प्राध्यापकसम्मका विभिन्न भूमिकामा सक्रिय रहेकी छिन्।
डा. सुधा शर्मा
स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. शर्मा २०३९ सालमा जिल्ला अस्पतालबाट सेवामार्ग सुरु गरेर सचिव पदसम्म पुगेकी हुन्। नेपाल चिकित्सक संघको इतिहासमै एक मात्र महिला अध्यक्ष बनेकी उनले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँगै जनस्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएकी छन्।
उनले युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सको फेलोशिप प्राप्त गरेकी छन्। यस्तै, नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) र दक्षिण एशियाली महासंघको अध्यक्ष रहिसकेकी उनले अन्तर्राष्ट्रिय स्तरमा समेत नेतृत्व गरेको अनुभव छ।
महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वुमेन अफ द इयर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएकी छन्। युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखसमेत रहेकी उनले पछिल्लोपटक सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व गरेकी थिइन्।
प्रधानमन्त्रीले छिट्टै स्वास्थ्य मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
