logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘जेन जेड’ आन्दोलनमा दुई दिनमै २,६४२ राउन्ड गोली चलाइयो : प्रहरी

‘जेन जेड’ आन्दोलनमा दुई दिनमै २,६४२ राउन्ड गोली चलाइयो : प्रहरी


  • शनिबार, असोज ११ २०८२
  • 1.8K
    SHARES

    काठमाडौं । दुई साताअघि भएको ‘जेन जेड’ आन्दोलन नियन्त्रण गर्न प्रहरीले अत्यधिक बल प्रयोग गरेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल प्रहरीले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार दुई दिनमा देशभर १३ हजार १८२ पटक गोली प्रहार भएको देखिन्छ।

    प्रहरीको भित्री विवरणअनुसार तीमध्ये २,६४२ राउन्ड गोली प्रत्यक्ष प्रयोग (live ammunition) गरिएको छ। साथै १,८८४ रबरको गोली, २,३७७ पटक चेतावनी स्वरूप गोली, र ६,२७९ टियर ग्यास प्रहार गरिएको छ।

    सबैभन्दा बढी गोली काठमाडौं उपत्यकामा प्रयोग गरिएको छ। यहाँ मात्र १,३२९ प्रत्यक्ष गोली, १,४२० रबरको गोली, १,०४६ चेतावनी गोली र ३,०९६ टियर ग्यास प्रयोग भएको प्रारम्भिक विवरणमा उल्लेख छ। यसरी उपत्यकामा मात्र ६,८९१ पटक गोली प्रहार भएको देखिन्छ। उपत्यकापछि मधेश प्रदेशमा १,९२१ पटक, कोशीमा १,५६८, कर्णालीमा ९३२, सुदूरपश्चिममा ७६३, लुम्बिनीमा ६१९, गण्डकीमा ३०६ र बागमतीका अन्य जिल्लामा १८१ पटक गोली प्रहार भएको छ।

    प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार गोली प्रयोगको विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरी मुख्यालयका डिआइजी दीपक रेग्मीको संयोजकत्वमा गठन गरिएको समितिले प्रदेशस्तरका विवरण समेत संकलन गरिरहेको छ।

    कमजोर सुरक्षा तयारी र सूचना संकलन

    वरिष्ठ प्रहरी अधिकृतहरूकै भनाइमा आन्दोलनअघि सुरक्षा निकायको सूचना संकलन कमजोर थियो। ८ सेप्टेम्बरमा करिब ४–५ हजार मात्र प्रदर्शनकारी हुने अनुमान गरिएको भए पनि, वास्तविक संख्याले सुरक्षाकर्मीलाई दबाबमा पार्‍यो। तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनअनुसार सुरुवाती रणनीति ‘कम उपस्थिति’ राख्ने भए पनि, यसले आन्दोलनलाई सामान्यभन्दा बढी बढावा दिएको विज्ञहरूको ठहर छ।

    पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार संसद् वरपर निषेधाज्ञा लगाइएको ठाउँमा प्रवेश नै रोक्नुपर्नेमा, प्रहरीको कार्यविधि पालना भएन। “गोली प्रहार गर्नु अघि पूरा गर्नुपर्ने प्रक्रिया बेवास्ता भयो,” उनले भने।

    गोली प्रहार र मानवअधिकार चिन्ता

    ८ सेप्टेम्बरको दिन मात्रै उपत्यकामा १९ जनाको मृत्यु भयो। दुई दिनमा मृत्यु हुनेहरूको संख्या ७५ पुगेको प्रहरी प्रवक्ता घिमिरेले बताए। मृतकमध्ये धादिङ र रामेछापका कैदी, नेपालगञ्ज सुधारगृहका पाँच बालबालिका, भाटभटेनी सुपरमार्केटमा लागिएको आगलागीमा २० जना, र तीन प्रहरीसमेत परेका छन्।

    पूर्व राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले आन्दोलनमा अत्यधिक बल प्रयोग भएको बताइन्। “अन्तर्राष्ट्रिय मान्यताअनुसार भिड नियन्त्रणमा प्राणघातक हतियार प्रयोग हुँदैन। घाइतेलाई एम्बुलेन्समै हुँदा गोली प्रहार गर्नु गम्भीर विषय हो,” उनले भनिन्।

    पोस्टमार्टम रिपोर्टअनुसार अधिकांश गोली कम्मरभन्दा माथि प्रहार गरिएको छ, जुन प्रचलित कानुनी प्रावधान विपरीत हो। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार गोली प्रयोग अन्तिम विकल्प मात्र हो र त्यसममा चेतावनी दिएर खुट्टातर्फ प्रहार गर्नुपर्ने व्यवस्था छ।

    राजनीतिक तहमा विवाद

    ८ सेप्टेम्बरको बेलुकीसम्म काठमाडौंमा १९ र कोशीमा २ जनाको मृत्यु भएपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखलाई प्रश्न गर्दै “यसरी गोली चलाएको इतिहास कहिल्यै छैन” भनेका थिए।

    सुरक्षा अधिकारीहरूले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि मात्र गोली चलाउनुपरेको दाबी गरेका छन्। तर, वरिष्ठ कानुनविद् सतीशकृष्ण खरेलका अनुसार आन्दोलनकारीको टाउकोमा गोली प्रहार गर्नु अस्वाभाविक र उत्तेजना बढाउने उद्देश्यले गरिएको देखिन्छ।

    प्रकाशित : शनिबार, ११ असोज २०८२ , १०:३५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend