लोकसारथि संवाददाता, काठमाडौं ।
नेकपा (एमाले) का वरिष्ठ नेता गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाले राजीनामा दिन सुझाव दिएका छन्। उनले ओलीले सहजै अध्यक्ष पद नछाडे महाधिवेशनको प्रक्रियामार्फत पदच्युत गर्न सकिने चेतावनी दिएका हुन्।
ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा बाँस्कोटाले ओलीलाई उद्दृत गर्दै भने, “उहाँ आफैंले १० वर्ष संघर्ष गरेर स्थापित गरेको विधि हो, त्यसबारे सबै जानकार छौं। त्यसैले अहिले स्वेच्छाले राजीनामा दिनु नै उचित हुन्छ, नभए महाधिवेशनको विधिबाट हटाइनेछ।”
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बाँस्कोटाको भनाइ स्पष्ट र प्रत्यक्ष थियो— “विधि र प्रक्रिया मिच्दै अघि बढ्नु उचित होइन। स्वेच्छाले अध्यक्षता छोड्नु राम्रो, नभए पार्टीको महाधिवेशनबाट हटाइनेछ।”
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता बहालीको पक्षमा बाँस्कोटा
त्यसैगरी बाँस्कोटाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिन नहुने मत पनि बैठकमा प्रस्तुत गरे। उनका अनुसार, भण्डारीले पहिले पार्टीकै आग्रहमा सदस्यता नवीकरण गरेकी थिइन्, तर पछि पार्टीले नै सदस्यता नवीकरण नगर्ने निर्णय गर्दा उनले असन्तुष्टि जनाइन्।
बाँस्कोटाको भनाइ उद्धृत गर्दै एक नेताले भने, “पूर्वराष्ट्रपतिको सदस्यता रोक्नुमा म हिजो पनि असहमत थिएँ, आज पनि छु। सदस्यता दिएपछि धेरै कुरा सहजै समाधान हुन्छ, आवश्यक परे सह-अध्यक्ष नै बनाउन सकिन्छ।”
उनका अनुसार, अध्यक्ष ओलीले चाहेको खण्डमा भण्डारीलाई तत्काल पार्टीमा सक्रिय गराउन सकिने बाँस्कोटाको धारणा थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार बाँस्कोटाको यस्तो स्पष्ट अभिव्यक्ति एमालेभित्र नेतृत्व हस्तान्तरण र आन्तरिक सत्ता समीकरणको नयाँ संकेत हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
