logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीको सचिवालयद्वारा स्पष्टिकरण : गृहमन्त्री अर्याललाई हटाउने निर्णय कसैको दबाबमा सम्भव छैन

प्रधानमन्त्रीको सचिवालयद्वारा स्पष्टिकरण : गृहमन्त्री अर्याललाई हटाउने निर्णय कसैको दबाबमा सम्भव छैन


  • बिहिबार, कार्तिक १३ २०८२
  • 546
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा आएका समाचारहरू भ्रमपूर्ण रहेको बताउँदै स्पष्ट प्रतिक्रिया दिएको छ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेको — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री अर्याललाई हटाउने तयारी भइरहेको भन्ने समाचार पूर्ण रूपमा तथ्यहीन भएको बताएका छन्।

    विज्ञप्तिमा भनिएको छ — “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। यस्तो निर्णय कसैको दबाब वा प्रभावमा गर्न सकिँदैन।”

    सचिवालयका अनुसार हालको सरकार ‘जेनजी आन्दोलन’बाट व्यक्त जनादेशअनुरूप गठन भएको हो, जसले असामान्य परिस्थितिमा देशको जिम्मेवारी वहन गरिरहेको छ। त्यसै सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने, र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर सक्रिय भूमिका खेलिरहेका सचिवालयले जनाएको छ।

    विज्ञप्तिमा थप भनिएको छ — “देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको बेला यस्ता भ्रामक समाचार र अफवाहले जनमानसमा भ्रम फैलाउने काम नगर्नु अत्यावश्यक छ। यस्ता असत्य सूचनामा विश्वास नगर्न सबै पक्षलाई अनुरोध गर्दछौं।”

    प्रधानमन्त्रीको सचिवालयले अन्त्यमा गृहमन्त्री अर्याल आफ्नो जिम्मेवारीमा दृढतापूर्वक कार्यरत रहेको र सरकार देशको स्थायित्व, शान्ति र सुशासनमा प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।

    प्रकाशित : बिहिबार, १३ कार्तिक २०८२ , १०:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend