लोकसारथि संवाददाता, बुटवल।
काठमाडौं । पुराना दलहरूको दीर्घकालीन असफलता र देशभर फैलिँदै गएको राजनीतिक निराशाको पृष्ठभूमिमा नयाँ र वैकल्पिक शक्तिहरू एकीकृत हुने प्रयास तीव्र बनेको छ। पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईको अग्रसरतामा बिहीबार बिहान नयाँ बानेश्वरमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच विशेष छलफल सम्पन्न भएको छ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेसपा नयाँ शक्ति, विवेकशील साझा, प्रगतिशील अभियान नेपाल, र उज्यालो नेपाल अभियानका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा भट्टराईले पुराना भ्रष्ट र दलाल प्रवृत्तिका राजनीतिक शक्तिहरूलाई आगामी निर्वाचनबाट नै परास्त गर्न नयाँ र वैकल्पिक शक्तिहरूबीच एकता आवश्यक रहेको प्रस्ताव राखेका थिए।
सहभागी नेता सुदन किराँतीका अनुसार भट्टराईले हालैको जेनजी आन्दोलन पछि दुलोमा लुकेका पुराना भ्रष्ट नेताहरू फेरि टाउको उठाउने प्रयासमा रहेको भन्दै त्यसलाई रोक्नका लागि वैकल्पिक शक्तिहरूले साझा मोर्चा बनाउनुपर्ने धारणा राखेका थिए।
उनका शब्दमा —
“बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो। जेनजी विद्रोहपछि भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन्। त्यसैले अब नयाँ र वैकल्पिक शक्ति एकजुट भएर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो।”
भट्टराईले छलफलका क्रममा वर्तमान राजनीतिक अवस्थालाई “जनताको निराशाको खाल्डो” का रूपमा चित्रण गर्दै चेतावनी दिएका थिए—
“यदि जनतामा फैलिएको निराशा अन्त्य गर्न नसकिए देश झन् ठुलो संकटमा पर्न सक्छ। झिना–मसिना स्वार्थ त्यागेर सम्पूर्ण नयाँ शक्ति एउटै मञ्चमा आएर जनतामा आशा जगाउने राजनीतिक विकल्प निर्माण गर्नुपर्छ।”
उक्त छलफलमा रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियान नेपालका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, र उज्यालो नेपाल अभियानका प्रतिनिधिहरू सहभागी थिए।
सहभागी नेताहरूले भट्टराईको प्रस्तावलाई सकारात्मक रूपमा स्वागत गर्दै छलफललाई आगामी दिनमा संरचनागत र नीतिगत एकतातर्फ अघि बढाउने सहमति जनाएको किराँतीले बताए।
वैकल्पिक शक्तिको संयुक्त मोर्चा – जनअपेक्षाको नयाँ दिशा
राजनीतिक विश्लेषकहरूका अनुसार यो छलफल नयाँ युगको संकेत हो, जहाँ विभाजित वैकल्पिक शक्तिहरू अब जनताको साझा आकांक्षालाई मूर्त रूप दिन संगठित हुन खोज्दैछन्। विगतका आन्दोलनहरू र निर्वाचनमा छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गर्दा जनसमर्थन बिखरिएको अनुभवले पनि अब एकीकृत मोर्चाको आवश्यकता देखिएको हो।
यदि यी वैकल्पिक शक्ति र देशभक्त धारका दलहरू एकै मञ्चमा आएर साझा नीति, साझा दृष्टिकोण, र साझा प्रतिबद्धता सहित अघि बढ्न सके भने, पुराना दलहरूद्वारा संस्थागत लुटतन्त्रको संस्कृतिलाई निर्वाचनबाट नै अन्त्य गर्ने सम्भावना प्रबल देखिन्छ।
राजनीतिक परिवर्तनको नाममा देशलाई दलगत स्वार्थले थिलथिलो बनाएको यथार्थलाई जनताले बिर्सेका छैनन्। त्यसैले अहिलेको आवश्यकता नाराभन्दा बढी कार्य र परिणाममुखी वैकल्पिक राजनीतिका ठोस अभ्यास हुन्।
भट्टराईको नेतृत्वमा सुरु भएको यो छलफलले यदि वैचारिक स्पष्टता, पारदर्शिता, र देशभक्त उद्देश्यको साझा बुँदामा सबै वैकल्पिक शक्तिलाई एकजुट गर्न सक्यो भने, यो नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड सावित हुन सक्छ।
अब समय आएको छ—
देशभक्त र इमानदार शक्तिहरूले विभाजन होइन, एकता रोजून्;
राजनीतिले प्रदर्शन होइन, परिणाम प्रस्तुत गरोस्;
र जनता फेरि एकपटक “नयाँ नेपाल” को आशामा जागून्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
