logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘उज्यालो नेपाल’ नाममा कुलमान घिसिङको पार्टी दर्ता हुँदै, बिजुलीको चिम नै चुनाव चिह्न

‘उज्यालो नेपाल’ नाममा कुलमान घिसिङको पार्टी दर्ता हुँदै, बिजुलीको चिम नै चुनाव चिह्न


  • सोमबार, कार्तिक २४ २०८२
  • 1.8K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    ऊर्जा मन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ। आइतबार राति बसेको बैठकले यसअघि तय गरिएको ‘नेपाल जनसेवा पार्टी’को नाम परित्याग गर्दै ‘उज्यालो नेपाल’ नाममै निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।

    दल दर्ताका लागि हालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अस्थायी केन्द्रीय समिति गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। उपाध्याय संयोजक रहने गरी ५१ सदस्यीय केन्द्रीय समिति आयोगमा दर्ता गरिने भएको हो।

    पार्टीको चुनाव चिह्न भने ‘बिजुलीको चिम’ नै रहने निर्णय भएको छ। यसअघि नै उक्त प्रतीकलाई पार्टीको पहिचानका रूपमा स्वीकार गरिएको बताइएको छ।

    घिसिङ निकट एक नेताका अनुसार अहिले पार्टीको माइन्यूटिङ र हस्ताक्षरको काम अन्तिम चरणमा पुगेको छ।
    “सम्भव भएसम्म आज (२४ कात्तिक) साँझ ४ बजेसम्म सबै प्रक्रिया टुंग्याएर आयोगमा दर्ता गर्ने तयारी छ, नभए भोलिसम्म दर्ता हुनेछ,” उनले बताए।

    उनका अनुसार तत्कालका लागि कुनै पदाधिकारी तोकिँदैन, तर दोस्रो चरणमा सुमना जीसहितका केही नेताहरू पदाधिकारीका रूपमा समावेश हुने योजना छ।

    अहिले केन्द्रीय कमिटीमा समावेश हुने सदस्यहरूको नाम छलफल र टुंगोमा ल्याउने अन्तिम तयारी भइरहेको छ।
    ‘उज्यालो नेपाल’ नामको यो नयाँ पार्टीलाई ऊर्जा, विकास र सुशासनको नयाँ धारका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको बताइएको छ।

    प्रकाशित : सोमबार, २४ कार्तिक २०८२ , ०१:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend