लोकसारथि संवाददाता, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन साहसँगै अछाम पुगेका उनका सहयोगी दिनेश सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका छन्। अछाम सदरमुकाम मंगलसेनमा साहको टोलीसँगै रहँदा ४३ वर्षीय सिटौला अचानक अचेत अवस्थामा पुगेका हुन्।
सिटौलाको अवस्था गम्भीर बनेपछि उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर अछाम पठाइएको छ। हालसम्म उनको होस नआएको जनाइएको छ। अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार प्रारम्भिक उपचारपछि सिटौलालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।
“स्वास्थ्य अवस्था सामान्य नभएकाले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरिएको हो,” प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए।
नुवाकोट घर भएका सिटौला बालेन साहको चुनावी अभियान टोलीका सक्रिय सदस्य रहेको बताइएको छ। सिटौलाको उद्धारपछि बालेन साहको टोलीले भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार मध्यपहाडी राजमार्ग हुँदै दैलेखतर्फ जाने जनाएको छ।
सिटौला बेहोस हुनुको कारण हालसम्म खुल्न सकेको छैन। चिकित्सकीय परीक्षणपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जनाइएको छ।
यस घटनासँगै लगातार यात्रामा रहने, लामो समय भीडमा रहने र अत्यधिक उत्साहका साथ भाषण तथा शारीरिक परिश्रम गर्नुपर्ने चुनावी अभियानमा संलग्न व्यक्तिहरूको स्वास्थ्य सुरक्षाबारे पुनः बहस सुरु भएको छ।
चिकित्सकहरूका अनुसार अत्यधिक थकान, तनाव, निद्राको कमी र निरन्तर दौडधुपले मुटु तथा स्नायु प्रणालीमा अस्थायी गडबडी ल्याउन सक्छ। विशेषगरी हालसालै कुनै रोगबाट निको भएका, नियमित औषधि सेवन गरिरहेका वा खोप लगायतका स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गरेका व्यक्तिहरूले अत्यधिक उत्साहका साथ लामो भाषण दिने, भीडमा चिच्याउने वा भारी शारीरिक श्रम गर्ने कार्यमा सावधानी अपनाउनुपर्ने चिकित्सकीय सुझाव छ।
चिकित्सकहरू स्पष्ट पार्छन्—यस्ता अवस्थाहरू सबैमा समस्या निम्त्याउँछन् भन्ने होइन, तर शरीरलाई पर्याप्त आराम नदिई लगातार दबाब दिँदा मुटुको धड्कन असामान्य हुने, रक्तचाप असन्तुलित हुने वा अचानक अचेत हुने जोखिम बढ्न सक्छ।
दिनेश सिटौलाको अचानक स्वास्थ्य समस्या केवल व्यक्तिगत घटना मात्र नभई, तीव्र चुनावी अभियानमा संलग्न सबै राजनीतिक दल र कार्यकर्ताका लागि स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने सन्देश पनि हो। राजनीति जति आवश्यक छ, जीवन र स्वास्थ्य त्यत्तिकै अमूल्य छन्।
सिटौलाको स्वास्थ्य अवस्थाबारे थप विवरण चिकित्सकीय परीक्षणपछि सार्वजनिक हुने बताइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
