logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशका ३२८ मतदानस्थल अति संवेदनशील सूचीमा, विशेष सुरक्षा व्यवस्था

गण्डकी प्रदेशका ३२८ मतदानस्थल अति संवेदनशील सूचीमा, विशेष सुरक्षा व्यवस्था


  • सोमबार, माघ १९ २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका १ हजार २ सय ९७ मतदानस्थलमध्ये ३ सय २८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । ती मतदानस्थलहरूमा विशेष सुरक्षा व्यवस्था गरिने गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रहरीको जोखिम मूल्याङ्कन अनुसार गोरखा जिल्ला सबैभन्दा चुनौतीपूर्ण देखिएको छ ।

    गोरखामा सबैभन्दा बढी जोखिम

    दुई निर्वाचन क्षेत्र रहेको गोरखामा रहेका २ सय २५ मतदानस्थलमध्ये ८३ ओटा अति संवेदनशील, १ सय ३१ संवेदनशील र ११ ओटा सामान्य सूचीमा छन् । भौगोलिक विकटता र दुर्गम बस्तीका कारण गोरखा उच्च जोखिममा रहेको प्रहरीको निष्कर्ष छ ।

    मुस्ताङ र मनाङ कम जोखिमपूर्ण

    एक–एक निर्वाचन क्षेत्र रहेका मुस्ताङ र मनाङ तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएका छन् ।
    मुस्ताङका ३९ मतदानस्थलमध्ये कुनै पनि अति संवेदनशील छैनन् । त्यहाँ १० संवेदनशील र २९ सामान्य मतदानस्थल छन् ।
    मनाङमा भने २८ मतदानस्थलमध्ये पाँच अति संवेदनशील, १५ संवेदनशील र आठ सामान्य मतदानस्थल छन् ।

    अन्य जिल्लाको अवस्था

    • लमजुङ: १३० मतदानस्थलमध्ये ३० अति संवेदनशील, ७७ संवेदनशील, २३ सामान्य

    • तनहुँ (२ निर्वाचन क्षेत्र): १४४ मध्ये ८ अति संवेदनशील, ५२ संवेदनशील, ८४ सामान्य

    • स्याङ्जा: १९९ मध्ये ५६ अति संवेदनशील, ७१ संवेदनशील, ७२ सामान्य

    • नवलपुर: ११४ मध्ये ११ अति संवेदनशील, ५० संवेदनशील, ५३ सामान्य

    • म्याग्दी: ८२ मध्ये १५ अति संवेदनशील, ५९ संवेदनशील, ८ सामान्य

    • बागलुङ: १०७ मध्ये २९ अति संवेदनशील, २५ संवेदनशील, ५३ सामान्य

    • पर्वत: ७६ मध्ये ३५ अति संवेदनशील, ३४ संवेदनशील, ७ सामान्य

    कास्कीका ५६ मतदानस्थल ‘रेड जोन’मा

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार कास्कीमा रहेका १ सय ५३ मतदानस्थलमध्ये ५६ वटा अति संवेदनशील छन् । तीन निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नम्बर ३ सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।

    क्षेत्र नम्बर ३ मा ३० अति संवेदनशील, १८ संवेदनशील र ११ सामान्य मतदानस्थल छन् । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका केही दुर्गम वडामा विगतका निर्वाचनमा विवाद, प्रचारप्रसारमा अवरोध र मतदानका क्रममा समस्या देखिएकाले यो क्षेत्र उच्च जोखिममा राखिएको हो ।

    कास्की क्षेत्र नम्बर १ मा १९ अति संवेदनशील, २८ संवेदनशील र १४ सामान्य मतदानस्थल छन् । यस क्षेत्रमा विगतमा बम राखिएको हल्लाले मतदातालाई त्रसित बनाएको घटना समेत भएका थिए ।
    कास्की क्षेत्र नम्बर २ भने तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिएको छ । यस क्षेत्रमा ७ अति संवेदनशील, ८ संवेदनशील र १८ सामान्य मतदानस्थल छन् ।

    समग्रमा कास्की जिल्लामा ५६ अति संवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य मतदानस्थल पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तीन घेरामा सुरक्षा व्यवस्था

    जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गरिनेछ ।

    • भित्री घेरा: नेपाल प्रहरी र म्यादी प्रहरीद्वारा मतदाताको लाइन व्यवस्थापन

    • बीचको घेरा: सशस्त्र प्रहरी बल

    • बाहिरी घेरा: नेपाली सेनाको गस्ती

    यसका साथै मोबाइल गस्ती र रिजर्भ फोर्स पनि परिचालन गरिनेछ । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन मुठभेड, बुथ कब्जा तथा मृतक वा विदेशिएका व्यक्तिको नाममा हुनसक्ने फर्जी मतदान कडाइका साथ रोक्ने कास्की प्रहरीले जनाएको छ ।

    प्रकाशित : सोमबार, १९ माघ २०८२ , ०८:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend