logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

रुपन्देहीसहित ५८ जिल्लाको मतपत्र छपाइ सकियो, आइतबारसम्म सबै छपाइ पूरा हुने

रुपन्देहीसहित ५८ जिल्लाको मतपत्र छपाइ सकियो, आइतबारसम्म सबै छपाइ पूरा हुने


  • शुक्रबार, फाल्गुन १ २०८२
  • 897
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले गरिरहेको छ ।

    केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको छ भने आइतबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने छ ।

    उनका अनुसार हालसम्म छ प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको छ र बागमती प्रदेशका लागि मतपत्र छपाइ सुरु गरिएको छ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । बाँकी ३० लाख मतपत्र आइतबारसम्म छपाइ सकिने जानकारी उनले दिए ।

    प्रबन्ध निर्देशक पौडेलले उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र उम्मेदवार कम भएका जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने भएकाले छपाइ प्रक्रियामा केही दिन ढिलाइ भएको बताए ।

    छपाइ सम्पन्न भएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी कार्य सुरु भइसकेको पनि उनले जानकारी दिए । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न स्थानमा पुर्‍याइसकेको छ ।

    यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी ढुवानी सुरु भइसकेको केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सकिएको छ । हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भई ढुवानी भइरहेको जनाइएको छ ।

    मतपत्र छपाइ सम्पन्न भएका जिल्लामध्ये रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरू पनि रहेका छन् ।

    प्रकाशित : शुक्रबार, १ फाल्गुन २०८२ , ०१:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend