लोकसारथि संवाददाता, काठमाडौं ।
गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम सम्पन्न भएको जानकारी गराइएको हो। राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा मन्त्रालयका उच्च अधिकारीहरू तथा देशभरका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।
करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, समन्वय र व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार सबै जिल्लाबाट निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको तथा सुरक्षा अवस्था सामान्य रहेको विवरण प्रस्तुत गरिएको छ।
बैठकमा जिल्लागत निर्वाचन तयारीको अवस्था, केन्द्रले गर्नुपर्ने समन्वय, शान्ति सुरक्षाको वर्तमान स्थिति, मतदानका दिन अपनाउनुपर्ने सतर्कता तथा सुरक्षा संवेदनशीलताबारे समीक्षा गरिएको थियो। साथै सम्भावित चुनौतीलाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्ने समझदारी बनेको जनाइएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत, प्रभावकारी र विश्वसनीय बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका थिए। बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारीहरूले आवश्यक कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री मतदान स्थलमा पु¥याइसकिएको जानकारी दिएका छन्।
गृह मन्त्रालयले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण सुरक्षा निकाय र प्रशासनिक संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।
निर्वाचनपूर्व राष्ट्रिय सुरक्षा परिषद्को बैठक
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका लागि परिषद्को बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्नेछ।
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग समग्र सुरक्षा अवस्थाबारे छलफल गर्न बैठक आह्वान गरेको जनाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा देशभर शान्ति–सुरक्षा सुदृढ बनाउन आवश्यक रणनीति तय गर्न बैठक केन्द्रित रहने बताइएको छ।
बैठकमा पछिल्लो समय देशभरको सुरक्षा अवस्था, सम्भावित चुनौती र सुरक्षा संवेदनशील क्षेत्रबारे विस्तृत ब्रिफिङ हुने तयारी गरिएको छ। साथै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
