logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

डा. मनोजकुमार शर्मा विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु

डा. मनोजकुमार शर्मा विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु


  • मंगलबार, जेष्ठ ५ २०८३
  • 611
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    डा. मनोजकुमार शर्मा विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्माको कार्ययोजना तथा उनीविरुद्ध प्राप्त उजुरीमाथिको प्रक्रिया अघि बढाउँदै संसदीय सुनुवाइ समिति ले आवश्यक तयारी थालेको हो।

    मंगलबार बसेको समितिको बैठकमा सभापति वोधनारायण श्रेष्ठ ले डा. शर्माविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन तथा वितरण प्रक्रियाबारे जानकारी गराएका थिए। उनका अनुसार इमेलमार्फत तथा खामबन्दी रूपमा प्राप्त उजुरीमध्ये ‘गोप्य’ वर्गमा राखिएका उजुरीहरूको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाएर कोडिङ प्रणालीमार्फत सदस्यहरूलाई उपलब्ध गराइने निर्णय गरिएको छ।

    समितिले उजुरीहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै सांसद तथा सञ्चारकर्मीहरूलाई समेत गोपनीयता कायम गर्न आग्रह गरेको छ। समितिका अनुसार सुनुवाइ प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र मर्यादित बनाउन गोपनीयता र प्रक्रियागत अनुशासनमा विशेष ध्यान दिइनेछ।

    डा. मनोजकुमार शर्मा ले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८३ को दफा १९ अनुसार आफ्नो कार्ययोजना समितिसमक्ष पेश गरिसकेका छन्। उक्त कार्ययोजनाको प्रतिलिपि अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको छ भने आवश्यकताअनुसार डिजिटल प्रतिसमेत उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन दिएको छ।

    सुनुवाइ प्रक्रियालाई चरणबद्ध रूपमा अघि बढाउन समितिले आगामी कार्यतालिकासमेत तय गरेको छ। जसअनुसार प्राप्त उजुरीहरूमाथि छलफल गरिने, आवश्यक परे उजुरीकर्तालाई समितिमा उपस्थित गराइने तथा प्रस्तावित प्रधानन्यायाधीशलाई आमन्त्रण गरी विस्तृत सुनुवाइ गरिने कार्यक्रम रहेको छ।

    समितिका सदस्यहरूले सचिवालयद्वारा प्रस्तावित कार्यतालिकामाथि धारणा राख्न सुरु गरिसकेका छन्। अब डा. शर्माको योग्यता, अनुभव, न्यायिक क्षमता तथा भावी कार्यदिशामाथि विस्तृत छलफलपछि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिनेछ।

    प्रकाशित : मंगलबार, ५ जेष्ठ २०८३ , ११:३४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend