logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मन्त्रिपरिषद्को निर्णय: नेपाल र चीनबीच ऊर्जा सहकार्य विस्तार हुने

मन्त्रिपरिषद्को निर्णय: नेपाल र चीनबीच ऊर्जा सहकार्य विस्तार हुने


  • सोमबार, जेष्ठ ११ २०८३
  • 728
    SHARES

    बुटवल ।

    सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारणदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्तिसम्मका चार महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावहरू स्वीकृत गर्दै यस्ता निर्णय गरेको हो।

    बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरेको छ। उक्त आयोजना नेपाल र चीनबीच ऊर्जा सहकार्य विस्तार गर्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।

    त्यसैगरी कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। सरकारले मोटा धानको प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकेको छ। किसानलाई उत्पादनमा प्रोत्साहन दिन तथा बजार मूल्य स्थिर राख्न सरकारले यस्तो निर्णय गरेको जनाएको छ।

    मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२” को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता र बचतकर्ताको समस्या समाधानका लागि उक्त प्रतिवेदनलाई महत्वपूर्ण मानिएको छ।

    यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ। डंगोलको नियुक्तिसँगै प्राधिकरणको नेतृत्वले हवाई सुरक्षा, सेवा विस्तार तथा संरचनागत सुधारमा गति लिने अपेक्षा गरिएको छ।

    प्रकाशित : सोमबार, ११ जेष्ठ २०८३ , ०८:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend