logo

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, साउन १५ २०८३

देवनागञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति

देवनागञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति

मृतकलाई शहीद घोषणा गर्नेदेखि १० लाख राहत दिने निर्णय


  • शुक्रबार, साउन १५ २०८३
  • 13
    SHARES

    लोकसारथि संवाददाता ।

    सुनसरीको देवनागञ्ज गाउँपालिका–३, कासनाज्ञामा साउन १० गते भएको दुःखद घटनामा परी ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच २०८३ साउन १४ गते ६ बुँदे सहमति भएको छ।

    गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई जनही रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    यस्तै, साउन १० गते राति देवनागञ्ज–३, कासनाज्ञामा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।

    सहमतिअनुसार देवनागञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने भएको छ। साथै, मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

    त्यसैगरी, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरूलाई प्रचलित कानूनबमोजिम कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

    उक्त सहमतिपत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : शुक्रबार, १५ साउन २०८३ , ११:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend