logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भीम रावलको ‘विद्रोह’ लाई मसालद्वारा स्वागत

भीम रावलको ‘विद्रोह’ लाई मसालद्वारा स्वागत


  • शुक्रबार, पुष १९ २०८१
  • 663
    SHARES

    लोकसारथि, पुस १९, शुक्रबार । नेकपा (मसाल) ले नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको ‘विद्रोह’लाई स्वागत गरेको छ।

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी रावलले ‘एमाले बाट साहसपूर्ण विद्रोह’ गरेको उल्लेख गर्दै उनको कदम स्वागतयोग्य बताएका छन्।

    वक्तव्यमा एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको विरुद्ध रावलको कदमलाई ‘विद्रोह’ को सङ्ज्ञा दिइएको छ।

    राष्ट्रियताको सन्दर्भमा रावलको दृष्टिकोण सही र देशभक्तिपूर्ण बताउँदै पार्टीले वक्तव्यमार्फत् प्रतिगमन र साम्राज्यवादको नेपाली राष्ट्रियतामाथिको खतराको सन्दर्भमा पनि उनले सही दृष्टिकोण अपनाउने अपेक्षा गरेको छ।

    यस्तो छ प्रेस वक्तव्य
    एमालेबाट कामरेड भीम रावललाई निष्काशन गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन्। उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनमा पनि उनले आफ्नो पार्टीका नीतिको चर्को विरोध गर्दै आएका थिए। त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारबाही अप्रत्यासित थिएन। उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारबाहीलाई निष्काशन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ।

    कामरेड भीम रावलमाथिको त्यो कारबाही वा विद्रोह जे भए पनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो। उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो। त्यही प्रकारको स्थितिमा जुनसुकै रूपमा भए पनि भीम रावल पनि एमालेबाट अलग भएका छन्। उनको त्यो साहसपूर्ण कदमलाई हामीले स्वागत गर्दछौँ। त्यसपछि उनी कुन रूपमा अगाडि बढ्ने छन्? त्यसको आधारमा हामीले उनको मूल्याङ्कन गर्दै जाने छौँ।

    यो आम रूपमा थाहा भएको कुरा हो कि देशको राजनीति, खास गरेर राष्ट्रियताको प्रश्नमा भीम रावलको दृष्टिकोण पहिलेदेखि नै सही र देशभक्तिपूर्ण रहँदै आएको छ। त्यसका साथै आज देशमा प्रतिगमन र साम्राज्यवादीको राष्ट्रियतामाथिको खतरा पनि धेरै बढेर गएको छ। त्यो अवस्थामा उक्त दुवै विषयमा उनले सही दृष्टिकोण अपनाउने छन् भन्ने हामीले आशा र कामना पनि गर्दछौँ। त्यो दिशामा उनले उठाउने सकारात्मक कदमलाई हामीले समर्थन गर्दै जाने छौँ।

    २०८१ पुस १९ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , १२:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend