लोकसारथि संवाददाता, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री र सामाजिक सचेतक शबाना आजमीले हालै आफ्नो वैवाहिक जीवनका अनुभवहरूप्रति आत्ममन्थन गर्दै भावुक बयान दिएकी छन्। फिल्मफेयरसँगको अन्तरवार्तामा उनले सन् १९८४ मा प्रसिद्ध गीतकार तथा लेखक जावेद अख्तरसँग विवाह गर्दा आफूले भोग्नुपरेका सामाजिक आलोचना र आन्तरिक संघर्षबारे खुलेर बोलेकी हुन्।
शबानाले भनिन्, “त्यो समयमा म नारीवादी सोच भएकी कलाकारको रूपमा चिनिन्थें। जावेद अख्तर, जो पहिले नै विवाहित थिए र दुई सन्तानका पिता थिए, उहाँसँग विवाह गर्दा धेरैले मलाई दोषी ठहराए। समाजले यसलाई यस्तो देख्यो, जस्तो मैले अर्को महिलाको अधिकार खोसेर आफ्नो खुसी खोजेँ।”
उनले त्यसबेला आफूले कुनै प्रतिक्रिया नदिई मौन बस्नै उचित ठानेको बताइन्। “मलाई लाग्यो, म बोलेँ भने न त मलाई शान्ति मिल्थ्यो, न हनी ईरानीलाई, न त उहाँका बच्चाहरूलाई। मौन रहनु नै सबैका लागि राम्रो निर्णय थियो,” उनले भनिन्।
शबानाले जावेद अख्तरको पहिलो पत्नी हनी ईरानीसँगको सम्बन्धबारे पनि सकारात्मक ढंगले बोलेकी छन्। “हामीबीच एक स्वस्थ सम्बन्ध छ, र यसको श्रेय केवल मलाई होइन, हनी र जावेदलाई पनि जान्छ। हामी कसैले पनि एकअर्कामाथि आरोप प्रत्यारोप गरेनौं, र यही परिपक्वता हाम्रो सम्बन्धको आधार बन्यो,” उनले स्पष्ट पारिन्।
शबाना आजमीको यो बयानले उनी केवल अभिनेत्री मात्र नभई गहिरो सोच र भावनात्मक जिम्मेवारी बोकेकी व्यक्तित्व भएको पुष्टि गर्छ। व्यक्तिगत सम्बन्धहरूमा आएका उतारचढावप्रति उनीको दृष्टिकोण सन्तुलित, संवेदनशील र विवेकपूर्ण देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
