logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

Divorce को हल्लामा पूर्णविराम : ऐश्वर्या राय र अभिषेक बच्चनले मनाए वैवाहिक वर्षगाँठ, फ्यान खुसीले झुमे

Divorce को हल्लामा पूर्णविराम : ऐश्वर्या राय र अभिषेक बच्चनले मनाए वैवाहिक वर्षगाँठ, फ्यान खुसीले झुमे


  • सोमबार, बैशाख ८ २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    केही समयदेखि बलिउडको चर्चित जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धमा दरार आएको र उनीहरू चाँडै नै सम्बन्ध विच्छेदको घोषणा गर्ने तयारीमा रहेको भन्दै भारतीय मिडिया तथा सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको थियो। विशेषगरी अनन्त अम्बानीको विवाह समारोहको समयमा यी हल्लाहरू झनै तीव्र रुपमा फैलिएका थिए।

    तर यी सबै अफवाहहरूलाई खण्डन गर्दै ऐश्वर्या र अभिषेकले आफ्नो १८औं वैवाहिक वर्षगाँठ धूमधामसँग मनाएका छन्। ऐश्वर्या रायले आइतबार आफ्ना श्रीमान् अभिषेक र छोरी आराध्यासँग खिचिएको पारिवारिक तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै आफ्नो खुसी दर्शाएकी छन्। तस्बिरमा तिनै जना निकै खुशी मुद्रामा देखिएका छन्।

    यो तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फ्यानहरूले हर्ष व्यक्त गरिरहेका छन्। धेरैले यो तस्बिरलाई ‘डिभोर्सको हल्ला फैलाउनेहरूका लागि कडा जवाफ’ भन्दै व्याख्या गरेका छन्। तस्बिरमा कुनै कैप्शन लेखिएको छैन, तर एउटै रातो मुटुको इमोजीमार्फत् ऐश्वर्याले आफ्नो भावना अभिव्यक्त गरेकी छन्।

    एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै लेखेका छन्, “अन्ततः सबै कुरा ठीक भएकोमा खुसी लाग्यो, परिवारभन्दा ठूलो केही हुँदैन।” अर्का प्रयोगकर्ताले भने, “को थिए ती जो डिभोर्सको हल्ला फैलाउँदै थिए?” तेस्रो प्रयोगकर्ताले लेखेका छन्, “यो पोस्ट सबै हल्लाहरूप्रति एक ठुलो झापड हो।”

    एउटै तस्बिरले बच्चन परिवारको एकता र पारिवारिक सम्बन्धको गहिरो भावनालाई पुनः उजागर गरेको छ। ऐश्वर्या र अभिषेकको प्रेमकथा सधैं बलिउडको प्रेरणादायी कथामध्ये एक रहिआएको छ, र यो तस्बिरले त्यो प्रेम अझै जिवित र सशक्त रहेको पुष्टि गरेको छ।

    प्रकाशित : सोमबार, ८ बैशाख २०८२ , १२:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend