logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बाल गायिका परिधीको स्वरमा ‘घरकी फूलबारी’ सार्वजनिक, बाल भावना र देशप्रेमको सन्देश ‘भिडियो’

बाल गायिका परिधीको स्वरमा ‘घरकी फूलबारी’ सार्वजनिक, बाल भावना र देशप्रेमको सन्देश ‘भिडियो’


  • आइतबार, जेष्ठ २५ २०८२
  • 715
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    बाल गायिका परिधी खतिवडाको सुमधुर स्वरमा सजिएको बाल मैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा पारिवारिक आत्मीयता, बाल मनोविज्ञान, र राष्ट्रिय चेतना मिसिएको सन्देशमूलक भावना समेटिएको छ।

    काठमाडौंको वानेश्वरस्थित प्रज्ञा कुञ्ज बोर्डिङ स्कुल कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना उनको बहुप्रतिभा र राष्ट्रिय भावनाप्रतिको समर्पणको अनुपम उदाहरण बनेको छ।

    बुबाको शब्द, छोरीको स्वर

    गीतका शब्द परिधीका पिता इञ्जिनियर प्रमोद खतिवडाले लेखेका हुन्। सडक विभागमा कार्यरत प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रति गहिरो रुचि राख्छन्। यसअघि पनि उनका कलमबाट विविध भावनात्मक गीतहरू जन्मिइसकेका छन्।

    गीतमा संगीत तथा संगीत संयोजन सविन लिम्बूले गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई थप गहिराइ दिएको छ।

    भिडियोलाई जीवन्त बनाउने निर्देशक

    गीतको भिडियो निर्देशन गुरुभाइ फकीरले गरेका छन्। छायांकन परिधी अध्ययनरत स्कुल र काठमाडौंका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ। भिडियोमा बालमनको निर्मल कल्पना, देशप्रेम, र सामाजिक सद्भाव कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

    प्रेरणादायी सिर्जना

    ‘घरकी फूलबारी’ गीतले न्यानो पारिवारिक सम्बन्ध, देशप्रतिको माया, र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ। राष्ट्रिय भावनाले भरिएको यो बाल गीतले बाल चेतनामा देशप्रतिको माया र सद्भाव जागृत गराउने विश्वास गरिएको छ।

    बहुप्रतिभा बाल कलाकार

    यसअघि परिधीले लिटिल स्टार नेपाल प्रतियोगितामा मोस्ट पपुलर कन्टेस्टेन्टको उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन र चित्रकलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ।

    ‘घरकी फूलबारी’ गीत परिधी खतिवडाको बाल प्रतिभालाई मात्र होइन, नेपाली संगीतमा बाल सिर्जनाको महत्वलाई समेत स्मरण गराउने एक महत्त्वपूर्ण कदम बनेको छ।

    प्रकाशित : आइतबार, २५ जेष्ठ २०८२ , ०६:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend