– लोकसारथि संवाददाता, काठमाडौं ।
बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’बारे अहिले भारतीय फिल्म जगतमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्को चर्चा भइरहेको छ। फिल्मको फर्स्ट लुक सार्वजनिक भइसकेको छ र दर्शकहरू निकै उत्साहित देखिएका छन्। रणबीर कपुर भगवान रामको भूमिकामा, यश रावणको रूपमा र साई पल्लवी सीताको भूमिकामा देखिने पक्का भइसकेको छ। तर अहिले चर्चाको केन्द्रमा छन् अभिनेता सनी देओल, जो यस भव्य प्रोजेक्टमा भगवान हनुमानको शक्तिशाली अवतारमा प्रस्तुत हुँदैछन्।
सनी देओलले लिए ४०–४५ करोड पारिश्रमिक!
भारतीय सञ्चारमाध्यमहरूको रिपोर्ट अनुसार, सनी देओलले हनुमानको भूमिका निभाउने एवजमा ४० देखि ४५ करोड भारु पारिश्रमिक बुझेका छन्। यो पारिश्रमिक भारतीय फिल्म क्षेत्रमा पौराणिक पात्रका लागि दिइएको एक उच्च रकम हो। यसैगरी, रामको भूमिकामा रहेका रणबीर कपुरलाई दुई भागको फिल्मका लागि ६५ करोड भारु पारिश्रमिक दिइएको बताइएको छ।
८३५ करोडको भव्य बजेट, सुपरहीरो फ्रेन्चाइजभन्दा कम छैन!
रामायण फिल्म ८३५ करोड भारुको बजेटमा निर्माण भइरहेको छ, जुन कुनै सुपरहीरो फिल्म फ्रेन्चाइजभन्दा कम छैन। फिल्मको VFX काम संसार प्रसिद्ध कम्पनी DNEG ले गरिरहेको छ, जसले हल्युडका ठूला प्रोजेक्टहरूमा समेत योगदान दिइसकेको छ।
भव्य कास्ट र सह–निर्माता यश
फिल्ममा रणबीर, यश, साई पल्लवी र सनी देओलका अतिरिक्त थुप्रै चर्चित कलाकारहरू पनि देखिनेछन्, जसको नाम चाँडै सार्वजनिक गरिने जनाइएको छ। रोचक कुरा के छ भने, यश केवल रावणको भूमिकामा मात्र छैनन्, उनी यस फिल्मका सह–निर्माता पनि हुन्। फिल्मको मुख्य निर्माता नमित मल्होत्रा हुन् भने निर्देशनको जिम्मा नितेश तिवारीले लिएका छन्।
दुई वर्षे उत्सव: दिवाली २०२६ र २०२७ मा रिलिज
फिल्म ‘रामायण’ दुई भागमा रिलिज हुनेछ। पहिलो भाग दिवाली २०२६ र दोस्रो भाग दिवाली २०२७ मा सिनेमाघरहरूमा आउनेछ। फिल्मको एक मात्र सेट निर्माणमा मात्र ११ करोड भारु खर्च भएको जनाइएको छ। केही समयअघि फिल्मको प्रमुख छायांकन पूरा भएको छ, जसपछि अभिनेता रणबीर कपुर र निर्देशक रवि निकै भावुक देखिएका थिए।
भारतदेखि विश्वसम्म फैलिने धार्मिक भव्यता
रामायण चलचित्र न केवल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ, तर भारतीय सभ्यता र सनातन धर्मलाई विश्व रंगमञ्चमा भव्य ढंगले प्रस्तुत गर्ने माध्यमका रूपमा समेत लिइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
